चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण घोषणा

काठमाडौं । नयाँ कथावस्तु र आकर्षक शीर्षकसहित चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण हुने भएको छ । पेपरक्लिप प्रा.लि.ले निर्माण गर्ने यो सिनेमालाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् ।
निर्देशक न्यौपानेका अनुसार यो चलचित्र नेपाली समाजका विविध पक्ष र मानवीय भावनाहरूलाई चित्रित गर्दै दर्शकलाई मनोरञ्जनका साथसाथै गम्भीर सोच्न बाध्य बनाउने गरि निर्माण हुने बताए ।
‘चलचित्र ‘जनै हराएको बाहुन’ एक साधारण गाउँले पात्रको जीवनको यात्रा हो, जसले गाउँबाट सहरको यात्रा गर्दा सामना गर्नुपरेका चुनौती, नयाँ परिवेशसँगको संघर्ष, र त्यसले उसको जीवनमा ल्याउने परिवर्तनलाई समेट्छ,’ उनले भने ।
निर्देशक हिमाल न्यौपाने नेपाली चलचित्र उद्योगमा लामो समयदेखि सक्रिय छन् । उनले यसअघि वृत्तचित्र र लघु चलचित्रको निर्देशनमार्फत आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। ‘जनै हराएको बाहुन’ उनको पहिलो व्यावसायिक चलचित्र हो ।
चलचित्रमा प्रमुख कलाकार र प्राविधिक टोलीबारे केही दिनभित्र जानकारी गराइने निर्माण पक्षले जनाएको छ । सन् २०८२ सालमा चलचित्र प्रदर्शन गर्ने योजना राखिएको सिनेमाको छायाङ्कन यो वर्षको अन्त्यतिर सुरु गर्ने लक्ष्य निर्माण कम्पनीले बताएको छ ।