‘माग्ने राजा’मा आर्यन सिग्देलको इन्ट्री

काठमाडौं । ऋषि लामिछानेको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘माग्ने राजा’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् ।

फाल्गुनको पहिलो साताबाट छायांकन सुरु हुने यस चलचित्रको शीर्ष भूमिकामा यसअघि केदार घिमिरे (माग्ने बुढा) फाइनल भइसकेका थिए । चलचित्रको अर्को अभिनेताको रुपमा आर्यनसँग शनिबार सिनेमाका निर्माता मुनाल घिमिरेले कागजी सम्झौता गरेका हुन् ।

निर्देशक लामिछानेका अनुसार आर्यनलाई चलचित्रको महत्त्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरिएको हो । यो सिनेमामा उनको भूमिका एक्सटेन्डेड केमियो हुनेछ, जुन साधारण केमियोभन्दा लामो र महत्त्वपूर्ण हुने बताइएको छ ।

यस अघि चलचित्रको मुख्य भूमिकामा केदारपछि अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी थिइन् । आर्यनले अर्को चलचित्र ‘महाभोज’ को छायांकन पूरा गरेपछि ‘माग्ने राजा’को छायांकनमा सामेल हुने सहमति जनाएका छन् ।

चलचित्रमा केदार र वर्षाका साथमा पवित्रा साकी (मिस पवि), शिशिर बाङ्देल लगायतका कलाकारको अभिनय रहनेछ । निर्देशक लामिछानेले चलचित्रमा अन्य लोकप्रिय कलाकारहरूको पनि प्रवेश हुने जानकारी दिएका छन् ।

सामीप्यराज तिमिल्सिनाले लेखेको पटकथा र संवादमा आधारित यो चलचित्र सामाजिक तथा हास्य कथा प्रस्तुत गर्नेछ । छायांकनको जिम्मेवारी नरेन्द्र मैनालीले लिएका छन् भने संगीत दीपक शर्माले तयार गर्दैछन् ।

मुनाल घिमिरेको निर्माणमा करिब ३ करोड रुपैयाँ लागतमा बन्ने यो चलचित्रलाई भव्य बनाउन तयारी भइरहेको छ । मुनाल घिमिरे कलाकार मात्र नभई दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष पनि हुन् ।

चलचित्रमा मुख्य कथा हास्य अभिनेता केदार घिमिरेमा केन्द्रित हुनेछ । केदार र वर्षाबीचको जोडीले कथालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

निर्देशक लामिछानेले चलचित्रले दर्शकलाई मनोरञ्जनको नयाँ अनुभव दिने विश्वास व्यक्त गरेका छन् ।