‘मंगलम–२’ निर्माण घोषणा, शिल्पालाई छविले हिरोइनमा लिएलान् ?

काठमाडौं । २०७४ सालमा निर्माण भएको चलचित्र ‘मंगलम’को दोस्रो भाग ‘मंगलम–२’ निर्माण हुने भएको छ । छविराज ओझा र दिजेन्द्र शाक्यको निर्माणमा बन्न लागेको यो सिनेमालाई नवल नेपालले निर्देशन गर्नेछन् ।
छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने ‘मंगलम–२’ निर्देशक नेपालका लागि यो ब्यानरमा निर्देशन गर्न लागेको तेस्रो सिनेमा हुनेछ । यसअघि उनले यही ब्यानरमा ‘लज्जा’ र ‘मंगलम’ निर्देशन गरेका थिए ।
‘मंगलम’को चर्चित गीत ‘पर्ख पर्ख मायालु’ अहिले पनि श्रोतामाझ लोकप्रिय छ । ‘मंगलम–२’मा भने पुराना कलाकारहरू दोहोरिने छैनन् । निर्देशक नेपालका अनुसार यो चलचित्रको कथा पूर्णतः नयाँ हुनेछ र पुरानो सिनेमासँग भावनात्मक सम्बन्ध मात्र रहनेछ ।
‘मंगलम’मा पुष्प खड्का, शिल्पा पोखरेल, राम्राज्ञी आरएल शाह थिए ।
निर्माता ओझाले आइतबार निर्देशक नेपाललाई औपचारिक रूपमा अनुबन्ध गरेपछि चलचित्रको निर्माण प्रक्रिया अघि बढेको छ । सिनेमाका कलाकार र प्राविधिक टिमबारे केही समयपछि जानकारी गराइने निर्माता ओझाले बताएका छन् ।
निर्देशक नवल नेपालले आर्टखबरसँगको कुराकानीमा भने, “यो नयाँ कथामा आधारित सिनेमा हो । पुरानो कलाकारहरूमध्ये कोही पनि दोहोरिने छैनन् । केही सह-कलाकारले मात्र पुरानो सिनेमासँगको सम्बन्ध कायम गर्नेछन् ।”
‘मंगलम २’ले दर्शकलाई कस्तो अनुभव प्रदान गर्नेछ भन्ने प्रतीक्षा सुरु भएको छ ।