बाबु-छोरीबीचको भावनात्मक सम्बन्ध झल्काउने ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’

काठमाडौं । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ ।

प्रणय दिवसको दिन पारेर आगामी फागुन २ गतेबाट रिलिज हुने यो सिनेमाको गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर रहेको छ । सार्वजनिक गीतको शब्द र संगीत पनि भीम बिसीकै छ भने उदयराज पौडेलले एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ रहेको छ ।

शिशिर खाती कोरियोग्राफी गरेको गीतको भिडियोमा सिनेमाका प्रमुख कलाकारहरू सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा विशेष गरी बाबु-छोरीबीचको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ ।

सान्भी इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’लाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय सिनेमा हो ।

चलचित्रमा अभिनय गर्ने अन्य कलाकारहरूमा दिलीप रायमाझी, उत्तम केसी, विशाल पहारी लगायत छन् ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, र बन्दे प्रसादको सम्पादन रहेको छ ।

दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसी संगीत रहेको चलचित्रका गीतहरूमा आनन्द कार्की, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर रहेको छ ।

‘रंगी’ लाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछन् ।