‘कोशेढुंगा’का लागि मुख्य कलाकार फाइनल

काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुंगा’को लाइनअप फाइनल हुने चरणमा छ ।
निर्देशक सरोजका अनुसार चलचित्रका मुख्य कलाकारको लाइनअप पूरा भएको छ । सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भइसकेका छन् ।
चलचित्र महिला चरित्रप्रधान भएकाले सिनेमाको लिड रोलमा सुरक्षा पन्त हुनेछिन् ।
थिम पोस्टरले पनि ‘कोशेढुंगा’मा महिला चरित्रले सिनेमा लिड गर्ने प्रष्ट संकेत गरिसकेको थियो ।
सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रसकलेक्सन गरिसकेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल मुख्य भूमिकामा थिए । तर, यो सिनेमामा उनी रहने छैनन् ।
‘कोशेढुंगा’ सोसल ड्रामा हो । अभाव, अग्लो सपना र संघर्षको कथा चलचित्रले भन्ने संकेत थिम पोस्टरले गरेको छ । निर्माण पक्षले जानकारी दिए अनुसार चलचित्र २०८२ मा रिलिज हुनेछ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।
बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।
कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित हुनेछ ।