‘केटी हराएको सूचना’ बारे के भन्छन् त ‘उजेली’ का निर्देशक गौचन ?

काठमाडौं । ३२ वर्षअघिको क्लासिक डकु-ड्रामा ‘उजेली’ बाट निर्देशनमा चर्चा कमाएका निर्देशक दीपेन्द्र गौचन यही शुक्रबारबाट आफ्नो नयाँ चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ लिएर दर्शकमाझ आउँदैछन् ।
२२ वर्षपछि ठूलो पर्दामा निर्देशनमा फर्किएका निर्देशक गौचनका लागि यो चलचि चुनौतीपूर्ण कमव्याक हो । यसअघि ‘हाम्रो मुमिन’ जस्ता डकु-ड्रामा निर्देशन गरिसकेका गौचनकै निर्माण रहेको सिनेमामा उनकै स्क्रिप्ट लेखन छ ।
दीपेन्द्रका अनुसार ‘मिसिङः केटी हराएको सूचना’ को कथा लेखनको सुरुवात निकै रोचक छ । उनले कम्बोडियामा पढाउने क्रममा आफ्ना विद्यार्थीलाई कथा लेख्न निर्देशन दिएका थिए । विद्यार्थीहरूले लेखेका कथाहरू अस्वीकृत गरेपछि उनीहरूले दीपेन्द्रलाई नै कथा लेखेर देखाउन चुनौती दिए । विद्यार्थीहरूको यो चुनौती स्वीकार्दै उनले कथा लेखे र त्यसलाई सर्ट फिल्म बनाए, जुन विभिन्न फेस्टिभलहरूमा अवार्ड जित्न सफल भयो ।
कम्बोडियामा २२ वर्ष बिताएर नेपाल फर्किंदा दीपेन्द्रले यही कथा नेपाली परिवेशमा झन सुहाउँदो हुने देखे । मधेस र पहाडको मिश्रित कथाले चलचित्रलाई अझ सशक्त बनाउने सोचसहित उनले पटकथा लेखन सुरु गरे । स्क्रिप्टलाई फाइनल गर्न उनलाई झण्डै तीन महिना लाग्यो मूल कथालाई अंग्रेजीमा लेखिएपछि अमित पोखरेल र अमितेष शाहको सहकार्यमा नेपालीकरण गरिएको थियो ।
पात्र छनोटका बारेमा दीपेन्द्र भन्छन्, ‘हामीलाई काठमाडौंमा जन्मिएर यतै बसेको मधेसी टोन कम भएको पात्र चाहिएको थियो, जुन नाजिर हुसेनमा भेट्यौं । पहाडी लुक्सका लागि सृष्टि श्रेष्ठ उपयुक्त ठहरिइन् । उनको गोरो अनुहार, पहाडी लुक्स अनि अंग्रेजी बोल्ने शैली मलाई प्रभावशाली लाग्यो ।’
चलचित्रको ट्रेलरमा मधेसमा ‘नेपाली’ पहिचानको विषय उठाइएको छ । दीपेन्द्रका अनुसार मधेसका पात्रहरूले जतिसुकै हासखेल गरे पनि राष्ट्रियताको मामलामा दृढ अडान राख्ने सन्देश दिन खोजिएको छ । मधेस आन्दोलनको समयमा उठेका सवालहरूलाई पनि फिल्ममा समेटिएको छ ।
दीपेन्द्रका अनुसार ‘मिसिङः केटी हराएको सूचना’ महिला केन्द्रीत फिल्म हो । यसमा मुख्य पात्र को हो भनेर दर्शकले छुट्याउन गाह्रो मान्नेछन् । राम (नाजिर हुसेन) र सीता (सृष्टि श्रेष्ठ) को भूमिकामा समान महत्त्व दिइएको छ । दीपेन्द्र भन्छन्, ‘महिलालाई हिरोनी बनाएर अतिरिञ्जित गर्ने होइन, बरु प्राकृतिक रूपमा प्रस्तुत गर्ने मेरो चाहना हो । नाजिर र सृष्टि जुराइदिएकोमा म भगवानलाई धन्यवाद दिन चाहन्छु।’
यसबीच उनले ज्याकी च्यानललाई लिएर एचआईभीसम्बन्धी विज्ञापन बनाए । तीन वर्षको प्रोजेक्टमार्फत कम्बोडियाको एचआईभी संक्रमण घटाउने जिम्मा पाएका थिए । ज्याकीलाई लिएर उनले दुईवटा विज्ञापन बनाए । दुईवटैमा ज्याकीलाई अंग्रेजीमा बोल्न लगाउन उनलाई हम्मेहम्मे पर्यो । ‘ज्याकीलाई त्यतिबेला अंग्रेजीमा विज्ञापन गराउन निकै गाह्रो भएको थियो । ज्याकीको त्यो विज्ञापन थुप्रै देशमा पठाइएको थियो । एचआईभीको संक्रमण त्यस्तै विज्ञापनमार्फत घटाउन हामी सफल भएका थियौं,’ दीपेन्द्र सुनाउँछन् ।
दीपेन्द्र ‘उजेली’ र ‘मुमिन’ जस्ता डकु-ड्रामा लागि परिचित छन् । अब हेर्न बाँकी छ, दर्शकहरू ‘मिसिङः केटी हराएको सूचना’ लाई कसरी लिन्छन् ।