‘माया प्रीति’को घोषणा गर्दै ८ वर्षपछि चलचित्र निर्माणमा फर्किइन् निशा

काठमाडौं। अभिनेत्री तथा निर्मात्री निशा अधिकारी आठ वर्षपछि चलचित्र निर्माणमा फर्किएकी छिन् । उनी कार्यकारी निर्मात्रीको रूपमा जुटेसँगै शुक्रबार सामाजिक सञ्जाल मार्फत नयाँ चलचित्र ‘माया प्रीति’ निर्माणको घोषणा गरेकी हुन् ।

चलचित्र निर्माणको घोषणा गर्दै निशाले आफ्नो फेसबुकमा लेखेकी छिन्, “कार्यकारी निर्मात्रीको रूपमा ‘माया प्रीति’बाट नयाँ भूमिकामा सिल्भर स्क्रिनमा पुनरागमन गर्न पाउँदा म अत्यन्त उत्साहित छु, यो जादुयी र अविश्वसनीय यात्रा साझा गर्न अधैर्य छु ।”

पछिल्लो पटक चलचित्र‘आँखा’मा पनि देखिएकी निशाले यसअघि २०१७ मा ‘झ्यानाकुटी’ चलचित्र निर्माण गरेकी थिइन् ।

बैशाख मध्यदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘माया प्रीति’लाई रोमान्टिक-कमेडी विधामा नयाँ दृष्टिकोण दिने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ ।

अवि श्रेष्ठको निर्देशनमा बन्न लागेको यो चलचित्रमा निशा अधिकारी र सन्तोष कुमार कार्की कार्यकारी निर्माताका रूपमा आबद्ध छन् ।

वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा निर्माण हुने ‘माया प्रीति’ निर्देशक श्रेष्ठको पहिलो निर्देशकीय चलचित्र हो । निर्देशक श्रेष्ठले यसअघि हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओ र विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरेका थिए ।

निर्देशक अवि श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेमकथा हुनेछ । “सहज परिस्थितिमा प्रेम गर्नु सहज हुन्छ, तर यो चलचित्रमा असहज परिस्थितिमा पनि प्रेमलाई कसरी जोगाउन सकिन्छ भन्ने कथा समेटिएको छ,” उनले भने ।

चलचित्रको क्रिएटिभ निर्देशकका रूपमा प्रणव जोशी रहनेछन्, जो ‘रेशम फिलिली’ चलचित्रका निर्देशक समेत हुन् ।

‘माया प्रीति’को निर्माण टोलीमा नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरेको अनुभवी समूह एकत्रित भएको छ । शोका प्रस्तोताहरू अवि श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी फेरि एउटै टोलीमा आएका हुन् ।

वन टू थ्री स्टुडियोज् प्रा.लि.ले ‘माया प्रीति’बाट सुरुआत गर्दै आगामी दिनमा लगातार चलचित्र निर्माण गर्ने योजना बनाएको छ ।