karsang
Close Me

तेक्वान्दो र मार्सलआर्टका खेलाडी हिरो बनेपछि…

काठमाडौं । चलचित्र ‘दान्भी’ यही असार ७ गते रिलिज हुँदै छ । चलचत्रमा किरण श्रेष्ठ र कुन्साङ बोमजम नायकका रूपमा मुख्य भूमिकामा छन् ।

फिल्म ‘पर्खी बसें तिमीलाई’ पछि अभिनेता किरण श्रेष्ठ दोस्रो फिल्म ‘दान्भी’मार्फत दर्शकमाझ आउँदैछन् । ‘डेब्यू’ फिल्ममा ‘लभर ब्वाई’का रुपमा प्रस्तुत भएका उनी ‘दान्भी’मा भने कम ‘लभ’, बढी ‘एक्सन’मा देखिँदैछन् ।

उनी यो चलचित्रमा ‘सिआईबी अफिसर’को भूमिकामा देखिँदैछन् । एक्सन फ्लेभरको ‘दान्भी’मा किरणको एक्सन सिक्वेन्स पनि राम्रै रहेछ । उनले एक्सनमा खासै मेहनत गर्नुपरेन किनकी उनी आफैँ तेक्वान्दो खेलाडी हुन् ।

“मैले तेक्वान्दोबाट राष्ट्रिय खेलहरु पनि खेलेँ । सन् २००७ देखि २०१२ सम्म तेक्वान्दो खेल्थेँ । त्यसकारण पनि एक्सनमा गाह्रो भएन । त्यही पनि श्री गुरु (द्वन्द्व निर्देशक श्री श्रेष्ठ)गुरुसँग एक दुई दिनको क्लास चाहिँ लिएँ । त्यसपछि सुटिङ सेटमै एक्सन कोरियोग्राफी भयो”, किरण भन्छन् ।

किरणका अनुसार फिल्ममा नायिका पूजा शर्मासँग पनि उनको लभ सिक्वेन्स छ ।

‘दान्भी’ एक्सन जनराको भएकाले दर्शकले यो फिल्म हेर्नुपर्ने किरण बताउँछन् । ‘ नेपालमा यतिको एक्सन प्याक्ड फिल्म सायदै कम बनेको होला ।
किरण आफ्नो चरित्रलाई दर्शकले रुचाउनेमा आशावादी छन् ।

चालिसभन्दा धेरै म्युजिक भिडियोको अभिनयसँगै विभिन्न ब्राण्डमा मोडलिङ गरेर उदाएका मोडल कुन्साङ बोमजम । अहिले उनी ‘दान्भी’मार्फत चलचित्रमा ‘डेब्यु’ गर्दैछन् ।

आफ्नो काम दर्शकले स्वीकार्नेमा उनी ढुक्क छन् । “दान्भीमा मेरो चाखलाग्दो चरित्र छ । फिल्म हेरेपछि थाहा हुन्छ । मेरो चरित्र गम्भीरदेखि अलिक फरक मोडबाट बाँचेको किसिमको छ । अलिक गम्भीर र देशलाई माया गर्ने किसिमको मान्छे छु”, कुन्साङ भन्छन् ।

उनी पनि कराँतेका खेलाडी रहेछन् । उनले कक्षा ३ देखि ११ सम्म मार्सल आर्ट खेलेको बताए ।

कुन्साङ दर्शकले फरक एक्सन थाहा पाउन ‘दान्भी’ हेर्नुपर्ने बताउँछन् ।

म्युजिक भिडियोको आफ्नो रोमान्टिक छविलाई ‘दान्भी’ले परिवर्तन गर्नेमा उनी ढुक्क छन् । “दर्शकले गीत, ट्रेलरमा मेरो लुक्स देखिसक्नुभएको छ । अझ म्युजिक भिडियोमा मेरा फ्यानले मेरो काम देखिसक्नुभएको छ,” उनी भन्छन्, “अब यो फिल्म हेरिसकेपछि मेरो अभिनय क्षमता कस्तो रहेछ भनेर थाहा पाउनुहुनेछ ।”

रुपेश तामाङ निर्देशित चलचित्र ‘दान्भी’मा पूजा शर्मा, कुन्साङ बोमजम, किरण श्रेष्ठ, मोनासिला खतिवडा, राजाराम पौडेल, कालु रानालगायत कलाकारको अभिनय छ ।