सुशीलको यो व्यङ्ग्य कसलाई हो– जसले राम्रो झुट बोल्न जान्दछ, उही बेस्ट एक्टर हो

काठमाडौं । काल्पनिकतालाई यथार्थजस्तो बनाउनु नै कलाकारको परीक्षा हो । अभिनय भनेको केवल संवाद र शारीरिक हाउभाउ मात्र होइन भावनात्मक सजिव प्रस्तुति हो । काल्पिनिक हो भन्ने जान्दाजान्दै त्यसलाई यथार्थजस्तै गरी दर्शकमाझ सजिव रुपमा प्रस्तुत गर्नु अभिनय हो । यसका लागि झुट नै सही हुबहु सत्यतताको सबैभन्दा नजिक जो पुग्छ उही नै सच्चा कलाकार हो । उम्दा अभिनय क्षमता भएको अभिनेता हो ।
अभिनेता सुशील सिटौलाले केही दिन अगाडि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तै भनाइ व्यक्त गरे । यस्तै भनाइ, बलिउड अभिनेता परेश रावलले समेत कुनै समय सिनेमाकै प्रचारका क्रममा भनेका थिए । उनले भनेका थिए, “जसले आफैले आफैलाई झुट बोल्न सक्छ, त्यो नै महान कलाकार हो ।”
उनले आफ्नो आगामी चलचित्र ‘एक्टरः टेक वान’को प्रचारमा क्रममा निर्माणपक्षले आयोजना गरेको मिडियासँगको अन्तरक्रियामा भनेका थिए, “जसले राम्रो झुट बोल्न जान्दछ, उही बेस्ट एक्टर ।”
कार्यक्रममा सुशीलले कलाकारितामा झुटको प्रयोग र प्रतिस्पर्धाको बेथितिप्रति व्यङ्ग्य गरेका हुन् भन्ने प्रस्ट बुझ्न्थ्यो । उनको भनाइ उपयुक्त सन्दर्भसँग जोडिएर आएको मात्र होइन नेपाली फिल्म उद्योगको यथार्थ पनि हो ।
“हामी कहीँ कतै झुट बोलिरहेकै हुन्छौँ,” उनले भनेका थिए, “त्यो झुट बोल्नेक्रममा जसले राम्रो झुट बोल्न जान्दछ, उही बेष्ट एक्टर हो ।” उनको यो भनाइले नेपाली चलचित्र क्षेत्र र कलाकारिताको यथार्थलाई व्यङ्ग्यात्मक रूपमा उजागर गरेको छ ।
सुशीलको अभिनय दर्शक मन पराउँछन् । उनले अभिनय गरेका चलचित्र सफल हुन् वा असफल उनको अभिनयमा कमै मात्रै दर्शकले खोट लगाउँछन्, सौगात मल्लको जस्तै ।
‘होस्टल रिटन्र्स’, ‘सुन्तलीलाई भगाइलग्यो झिल्केले’, ‘गाजाबाजा’, ‘जुलेवी’ र ‘ऐचोपैचो’ मा उनको अभिनय अग्र्यानिक देखिएको थियो । तर, यसका बावजुद उनको अभिनय यात्राले अपेक्षित गति लिएको छैन ।
‘एक्टरः टेक वान’को हाल प्रचारको केन्द्रमा अभिनेता प्रदीप खड्का छन् । सुशीलको अभिनय क्षमताले मिडियामा पर्याप्त स्थान पाएका छैनन् । हुन त सिनेमाको लिडमा जो छ यसैलाई मिडियाले खोज्छ ।
सुशील सिटौलाको यो टिप्पणी उनका प्रशंसक र नेपाली चलचित्र क्षेत्रका लागि एउटा सन्देश पनि हो ।
‘एक्टरः टेक वान’ले उनको करियरमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ । उनले चलचित्रमा प्रस्तुत गरेको अभिनय कत्तिको प्रभावकारी छ भन्ने कुरा दर्शकको प्रतिक्रियाले मात्र थाहा हुनेछ । दर्शकले सिनेमा हेरेपछि सुशीलको अभिव्यक्तिले कस्तो प्रभाव पार्छ, त्यो हेर्न पनि बाँकी छ ।