चर्चित गीत ‘पारी त्यो डाँडामा’को नयाँ भर्सन आउने, पुरानै जादू दोहोर्याउने अपेक्षा

काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिली’ महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो सिनेमा २०७२ सालमा प्रदर्शनमा आएको ‘रेशम फिलिली’को सिक्वेल हो ।
यही चलचित्रमा समावेश गीत थियो ‘पारी त्यो डाँडामा’ । उक्त गीतको लोकप्रियताले अहिले पनि दर्शकको मन जितिरहेको छ । यस गीतले चलचित्रको ओपनिङलाई सानदार बनाएको भए पनि २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण ‘रेशम फिलिली’को प्रदर्शन प्रभावित भएको थियो ।
निर्माण पक्षले अघिल्लो भागको सोही चर्चित गीत ‘जालमा’को सफलतालाई यसपटक पनि प्रचारको मुख्य माध्यम बनाएको छ । हालै चलचित्रको टिमले यस सिक्वलको नयाँ गीत ‘फेरि जालमा’को छायांकन सम्पन्न गरेको छ । शुक्रबार गीत छायांकनका केही तस्वीर सार्वजनिक भएका छन्, जसमा सिनेमाका मुख्य जोडीलाई देख्न सकिन्छ ।
सार्वजनिक तस्बिरमा विनय श्रेष्ठ र सुपुष्पा भट्ट कँडेललाई रोमान्टिक मूडमा देख्न सकिन्छ । दीप लामाले कोरियोग्राफी गरेको गीतमा उनीहरू विभिन्न रंगीन छाताहरूले सिँगारेको पृष्ठभूमिमा दुई हात समातेर बसेका छन् ।
यस गीत ‘फेरि जालमा’मा पनि पुरानै टोलीको पुनरागमन भएको छ । कालीप्रसाद बाँस्कोटाको संगीत, मानस राजको शब्द र कालीप्रसाद बाँस्कोटा र सोमिया बराईलीको स्वरले गीतलाई पुरानै जादू दोहोर्याउने अपेक्षा गरिएको छ।
चलचित्र ‘फेरि रेशम फिलिली’ सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो । यो सिनेमाका लेखक तथा निर्देशक निरोज महर्जन हुन् भने निर्माता रौनक विक्रम कँडेल रहेका छन् । चलचित्रका कार्यकारी निर्माताको रूपमा सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा हुन् ।
‘फेरि रेशम फिलिली’मा विनय र सुपुष्पासँगै नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
सिनेमामा सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।
यो चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले देशभर वितरण गर्नेछन् ।