विनोद पौडेलले निर्माणको घोषणा गरे ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’, नयाँ लोगो सार्वजनिक

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलले एक साथ दुईवटा चलचित्र निर्माणको घोषणा गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ व्यापारिक रूपमा सफल भएपछि निर्माता पौडेलले आइतबार ‘सक्सेस पार्टी’ आयोजना गर्दै एकै दिन दुईवटा चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ व्यापारिक रूपमा सफल भएपछि निर्माता पौडेलले आइतबार ‘सक्सेस पार्टी’ आयोजना गरेका छन् । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सक्सेस पार्टी आयोजना गरिएको थियो । सक्सेस पार्टीमा चार सय पाहुनालाई निम्ता गरिएको निर्माता पौडेलले जानकारी दिए ।

एक करोड ३० लाखमा निर्माण भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । करिब ४० करोड ओभरसिज मार्केटबाट कलेक्सन भएको थियो ।

यसको सफलतापछि निर्माता पौडेलले यसको सिक्वेल बनाउने भएका हुन् । उनले ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ निर्माण गर्ने घोषणा गरे ।

‘पूर्ण बहादुरको सारङ्गी–२’ विसं. २०८३ मा र ‘रोल नं १’ २०८२ मा रिलिज गर्ने तयारी छ । चलचित्र ‘रोल नं १’ बालमनोविज्ञानमा आधारित रहेर बन्ने बताइएको छ । ‘रोल नं १’ लाई जोन योञ्जनले निर्देशन गर्नेछन् । ‘पूर्ण बहादुरको सारङ्गी–२’ कसले निर्देशन गर्नेछन् त्यो भने खुलाइएको छैन ।

यसैबीच कार्यक्रममा सेभने सिज सिनेमाको नयाँ लोगो पनि सार्वजनिक गरिएको छ ।