‘पूर्णबहादुरको सारंगी-२’ घोषणाप्रति निर्देशक पौडेल असन्तुष्ट, कमाइ खाने भाँडो नबनाउन सुझाव

काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’ का कथाकार तथा निर्देशक सरोज पौडेल चलचित्रको सिक्वेल घोषणाप्रति असन्तुष्ट देखिएका छन् ।

निर्देशक पाैडलले आफूसँग कुनै परामर्श नगरी चलचित्रको दोस्रो भाग घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार आयोजित सिनेमाकाे सक्सेस पार्टीमा ‘पूर्णबहादुरको सारंगी २’ निर्माणको औपचारिक घोषणा गरियो, जसमा निर्देशक पौडेल पनि सहभागी थिए । तर, पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति जनाउँदै चलचित्रको सिक्वेललाई अनावश्यक रूपमा तन्काएर व्यावसायिक उद्देश्य राख्न नहुने धारणा राखेका छन् ।

उनले भनेका छन्, “पूर्णबहादुरको सारंगी विशुद्ध मेरो स्टोरी, आइडिया र निर्देशनमा बनेको चलचित्र हो । यसले दर्शकको अपार माया पाएको छ, जसलाई ऐतिहासिक बनाइदिनुभएको छ । तर, इतिहास पटक–पटक दोहोर्‍याउन सकिन्न । यसलाई कमाइ खाने भाँडो बनाउँदा त्यसले इतिहास नै भत्काउन सक्छ ।”

पौडेलले स्पष्ट रूपमा ‘पूर्णबहादुरको सारंगी २’ मा आफू संलग्न नहुने बताएका छन् । उनले चलचित्रको गरिमा जोगाइराख्न र नयाँ कथाहरू फरक शैलीमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले थप लेखेका छन्, “मेरो जानकारीबिना मैले सिर्जना गरेका पात्र र कथालाई व्यावसायिक प्रयोग गर्ने प्रयास नहोस। मैले काम नगरे पनि, यदि चलचित्र निर्माण गरिन्छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरियोस् ।”

निर्देशक पौडेलको यस अभिव्यक्तिपछि चलचित्रको सिक्वेल निर्माणबारे नयाँ बहस सुरु भएको छ ।