‘जनै हराएको बाहुन’मा कस्तो भूमिकामा देखिँदै विजय बराल ?

काठमाडौं । अभिनेता विजय बरालले भर्सटाइल अभिनेताको छवि बनाइरहेका छन् । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा रहेका उनी ‘जनै हराएको बाहुन’मा मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।

‘जनै हराएको बाहुन’मा उनी कस्तो चरित्रमा देखिनेछन् भन्ने धेरैको कौतुहलता रहेको समयमा उनको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । उनको यो लुक्सले दर्शकमा कौतुहलता बढाएको छ ।

‘पूर्ण बहादुरको सारङ्गीमा उनी एकल बाबुको पात्र भूमिकामा देखिएका थिए भने ‘जनै हराएको बाहुन’मा पूर्ण रूपमा फरक देख्न सकिने भएको छ । आकर्षक नाम र नयाँ कथा रहेको यस चलचित्रमा विजयलाई एक योद्धाको भूमिकामा देख्न सकिने बताइएको छ ।

विजयले सिनेमाको कथावस्तु मन परेकाले यो सिनेमामा काम गर्न तयार भएको बताएका छन् । हिमाल न्यौपानको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमाका असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुन् । उनले अभिनयसँगै यही सिनेमाबाट पहिलो पटक निर्देशनमा कदम बढाउन लागेका छन् ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । सिनेमाले गाउँबाट सहर आएको एक व्यक्तिले भोग्नुपरेका समस्या र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।

सिनेमाको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । सिनेमामा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रूपमा मयंक निरौला रहेका छन् ।

सिनेमाका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ । यो वर्षको अन्त्यसम्ममा छायांकन सुरु गर्ने लक्ष्य राखिएको यो सिनेमा २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।