दयाहाङ र आँचलको प्रेमभाव देखाउने ‘दुःखी आत्मा’को ‘जुनीजुनी भरिलाई’

काठमाडौं । दिपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको चलचित्र ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक भएको छ ।
फागुन २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक गीतमा केतन क्षेत्री र मुना ठटालको स्वरमा रहेको छ । यो गीतमा ईश्वर कार्कीले शब्द तथा संगीत भरेका छन् भने उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई फिचर गरिएको छ ।
भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको यस गीतले उनीहरुको प्रेमभाव बोल्छ । तीन फरक-फरक ठाउँमा खिचिएको गीतलाई झकिझकाउ देखाउन सुन्तला, फूल, छाता, ढकी जस्ता प्रप्सहरु ठूलो संख्यामा प्रयोग गरिएको छ भने कोरस पनि उल्लेख्य छन् ।
आलोक शुक्लाको छायांकन गरेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।
‘दुःखी आत्मा’ले यौनसम्बन्धी समस्यामा परेको एक पुरुषको कथा प्रस्तुत गर्नेछ । चलचित्रको यसअघि सार्वजनिक टिजर र ‘ब्रेकअप कविता’ले सामाजिक सञ्जालमा निकै चर्चा पाइसकेको छ ।
यो सिनेमामा दयाहाङ र आँचलसँगै अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के र लुनिभा तुलाधरको अभिनय रहेको छ ।
क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रमा हिमाल कडरियाको लगानी रहेको छ । सिनेमाका कार्यकारी निर्माता सुदिप ढकाल हुन् ।