‘एक्टर: टेक वान’को प्रदर्शन रोकिएपछि दर्शकको पैसा के हुन्छ ?

काठमाडौं । चलचित्र ‘एक्टर: टेक वान’को आजबाट हुने भनिएको प्रदर्शन रोकिएको छ । प्रदर्शन रोक्न अदालतले आदेश दिएपछि ‘एक्टर : टेक वान’को आजबाट हुने भनिएको प्रदर्शन रोकिएको हो ।

काठमाडौं जिल्ला अदालतले अर्को आदेश नआउँदा सम्मलाई प्रदर्शन रोक्न भनेको छ । अदालतले दुवै पक्षलाई माघ २२ गतेका लागि बोलाएको छ ।

प्रदर्शन रोकिएसँगै अग्रिम टिकट बुकिङ गरेका दर्शकको पैसा के हुन्छ भन्ने जिज्ञासा धेरैमा छ । प्रदर्शन हुने भनिएको मितिमा चलचित्र रिलिज नभए पछि अब सिनेमा हलले दर्शकको पैसा फिर्ता गर्नुपर्नेछ ।

मल्टिप्लेक्स चेन क्यूएफएक्सले टिकटको पैसा फिर्ता गर्ने बताएको छ । “जिल्ला अदालतले जारी गरेको अन्तरिम आदेशका कारण र सम्बन्धित निकायबाट थप स्पष्टता नआएको अवस्थामा हामी एक्टर : टेक १ को बिहान शोहरू प्रदर्शन गर्न असमर्थ हुने जानकारी गराउँदछौँ,” क्यूएफएक्सले सूचना गर्दै भनेको छ, “निर्धारित शोटाइमका लागि सबै टिकटहरू पूर्ण रूपमा फिर्ता गरिनेछ । आवश्यक स्पष्टता प्राप्त भएपछि हामी शोहरू पुनः सञ्चालन गर्नेछौँ ।” कसरी पैसा फिर्ता गर्ने त्या भने उल्लेख गरिएको छैन ।

‘एक्टर’ चलचित्रसँग नाम र कथावस्तु मिलेको गत शुक्रबार अदालतमा मुद्दा परेको थियो । अदालतमा मुद्दा परेपछि मंगलबारेका लागि दुवै पक्षलाई बोलाइएको थियो ।

‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका थिए । ‘एक्टर’ रिलिज भइसकेको छ ।

‘एक्टरः टेक वान’लाई राजन भुसालले निर्देशन गरेका हुन् । यसमा प्रदीप खड्का, राजबल्लभ कोइराला, दिब्या रायमाझी, आना शर्मालगायत कलाकारको अभिनय छ ।