दिवाकर भन्छन्- ‘मायावी’ मैले भन्न चाहेको कथा हो

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गते चलचित्र ‘मायावी’ रिलिज हुन गइरेको छ । हालसम्म यो सिनेमाका तीन वटा गीत र केही पोस्टर सार्वजनिक भईसकेका छन् । सार्वजनिक गीत र पोस्टरबाट दर्शकमा ‘मायावी’प्रति उत्साह बढेको छ ।
यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । उनले यसअघि ‘मेरो जीवन साथी, स्टूपिड मन, ड्रिम्स, क्याप्टेन’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् ।
प्रेम कथामा विशेष दखल राख्ने निर्देशक भट्टराई यसपटक भने ‘मायावी’ मार्फत आफ्नै मनको कथा दर्शकसमक्ष प्रस्तुत गर्न पाएकोमा निकै खुशी देखिन्छन् । ‘मायावी’ शाब्दिक अर्थमा सुन्दर जाल, आकर्षण र मायाको प्रतिक रहेको निर्देशक भट्टराई बताउँछन् ।
‘मायावी’बारे बताउँदै भट्टराई भन्छन्, ‘‘मायावी शब्दको अर्थ सुन्दर जाल वा आकर्षण हो । मायाबिना संसार चल्न सक्दैन, किनकि मायाले नै जीवनलाई बाँधेको हुन्छ । चाहे त्यो बाबु-आमाको माया होस्, चाहे प्रेमी-प्रेमिकाको माया, सबैमा त्याग र जुनून हुन्छ। ‘मायावी’ ले त्यही कथा बोल्छ।’’
उनको अनुसार प्रेम पाउनेभन्दा प्रेम त्याग्नेहरूको कथा अझ बलियो हुन्छ । ‘‘पीडा पाएर पनि खुशी हुने पात्रहरूको कथा हो ‘‘मायावी’,’’ भन्छन् भट्टराई।
यो चलचित्र पोखराको सेरोफेरोमा बस्ने एक सामान्य परिवारको कथा हो । यसले खुशी र सुखबीचको भिन्नतालाई दर्शाउने प्रयास गरेको उनले बताए ।
‘‘जीवनमा कहिलेकाहीँ गुमाएर पनि पाइरहनु नै मायावी हो ।’’ दिवाकर भन्छन्,‘‘हामी जहाँ छौं, त्यहाँ सुख खोज्दा खुशी हराउन सक्छ। कसैका लागि पैसा खुशी हुन सक्छ, कसैका लागि सामान्य कुरा जस्तै नयाँ कपडा किन्दा पनि खुशी मिल्न सक्छ। त्यही सरलता र वास्तविकता फिल्ममा देखाइएको छ।’’
‘मायाबी’ मनबाट निस्केको कथा रहेको बताउँदै दिवाकर भट्टराई भन्छन्, ‘‘मैले निर्देशन गरेका अघिल्ला फिल्महरूमा मेरो कथा थिएन, तर ‘मायाबी’ मा मैले आफ्नै मनको कथा भनेको छु। म कस्तो निर्देशक हुँ भन्ने कुरा दर्शकले यस फिल्मबाट थाहा पाउनेछन् ।’’
मायावीको कथा लेख्दा कुनै कलाकारलाई ध्यानमा नराखी ‘जोय’ नामक पात्रलाई केन्द्रमा राखेर कथा बुनेको उनले बताए ।व्यावसायिक पक्ष जस्तो भए पनि ‘मायाबी’ बाट सन्तुष्ट रहेको बताउँदै भट्टराई दर्शकले यसलाई जसरी पनि लिए तापनि आफू खुशी हुने धारणा राख्छन् ।
चलचित्रमा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । निर्देशक भट्टराईका अनुसार दर्शकले ‘मायाबी’ हेरेपछि प्रेमको परिभाषामा नयाँपन महसुस गर्नेछन् ।