डेब्यू चलचित्रको प्रदर्शन रोकिने ‘डर’ले भावुक बनिन् दिव्या, कहाँ आइपुगेँ जस्तो लाग्यो

काठमाडौं । चलचित्र ‘एक्टर : टेक वान’ र ‘एक्टर’ बीचको नामलाई लिएर चलिरहेको विवाद बिहीबार टुंगिएको छ । नामसम्बन्धी विवाद समाधान भएपछि शुक्रबार अर्थात् भोलिदेखि ‘एक्टर : टेक वान’ प्रदर्शनमा आउँदै छ । यसअघि ‘एक्टर’ का निर्माताले प्रतिलिपि अधिकार उल्लंघनको आरोपमा अदालतमा मुद्दा दायर गरेका थिए, जसका कारण माघ १६ गतेबाट प्रदर्शनको तयारीमा रहेका ‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएको थियो ।
‘एक्टर’का निर्माताले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने भएपछि भोलिबाट ‘एक्टर : टेक वान’ हलमा लाग्ने बाटो खुलेको हो । प्रदर्शनको बाटो खुलेसँगै चलचित्रको निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्यो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्देशन राजन भुसाल, कलाकार प्रदीप खड्का, दिव्य रायमाझी लगायत कलाकार उपस्थित थिए ।
उक्त पत्रकार सम्मेलनमा चलचित्रको मुख्य पात्रसमेत रहेकी अभिनेत्री दिव्या रायमाझी निराश र भावुक देखिइन् । कार्यक्रममा उनी बोल्दाबोल्दै भक्कानिइन् ।
दिव्यालाई पत्रकारले ‘पहिलो चलचित्रमा नै यस्तो समस्या आइलाग्यो, कस्तो महसुस भइरहेको छ’ भनेर सोधे । जसको जवाफ दिँदै उनले भनिन्, ‘छोटो समयका लागि त यहाँ केही हुँदैन रैछ भन्ने लाग्यो । म त कहाँ आइपुगेँ जस्तो लाग्यो । त्यति धेरै सपना बोकेर आइपुगेकी थिएँ । त्यति धेरै अपेक्षा बोकेर आइपुगेकी थिएँ । फिल्म रिलिज नै रोकिएपछि म अत्यन्तै दुःखी भएकी थिएँ । रिलिजको अघिल्लो दिन यस्तो खबर सुन्दा स्तब्ध भएँ,’ भन्दै उनले आँसु झारिन्।’
पहिलो फिल्मबाट नै यस्तो समस्या खेप्नु परेपछि निराश बनेको उनको भनाइ थियो । ‘भर्खरै चलचित्र क्षेत्रमा आएकी थिएँ, तर त्यस्तो हुँदा के भनुँ भन्ने भइरहेको थियो । सपना पूरा हुँदैछ भन्ने लागेको थियो । प्रिमियरले एकदमै खुसी भएकी थिएँ । तर एक्कासी फिल्म रोकिएको न्युज थाहा पाएँ । अनि त के गरुँ, गरुँ भन्ने भयो । यस्तो समस्या नयाँ कलाकारले मात्रै होइन, कसैले पनि भोग्न नपरोस् ।’
अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी अभिनीत यो पहिलो सिनेमा हो ।
कार्यक्रममा चलचित्रका अभिनेता प्रदीप खड्काले ‘फिल्म रिलिज रोक्न अदालतको आदेश आउँदा ठूलो मानसिक दबाब परेको’ बताए ।
अभिनेता खड्काले अदालतको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘सरकारी निकायबाट स्वीकृति प्राप्त भइसकेपछि र सेन्सर पास भएपनि फिल्म रोकिनु दुर्भाग्यपूर्ण हो।’ उनले सेन्सर पास भएपछि कुनै पनि फिल्म रिलिज हुन पाउनुपर्ने धारणा राखे । साथै, उनले फिल्म उद्योगमा यस्ता समस्या दोहोरिन नहुने बताए ।
निर्देशक राजन भुसाल पनि अदालतको आदेशपछि निराश बनेका थिए । ‘पछिल्ला केही दिन तनावग्रस्त रहे, फिल्म नै नबनाउने सोचमा पुगेको थिएँ,’ उनले भने । तर, विवाद समाधान भएसँगै अब फिल्म दर्शकमाझ आउने भएकाले उनी उत्साहित छन् ।