‘एक्टर : टेक वन’ले कस्तो प्रतिक्रिया पाइरहेको छ ?

काठमाडौं । विभिन्न व्यवधानका बाबजुद शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले उल्लेखनीय प्रतिक्रिया प्राप्त गरिरहेको निर्माणपक्षले दाबी गरेको छ । शुक्रबार साँझदेखि गति लिएको यो चलचित्र शनिबार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ ।
शनिबार देशभर करिब ३३० वटा शोमा चलचित्र प्रदर्शन भइरहेको वितरण कम्पनी डीसीएनले जानकारी दिएको छ।
चलचित्रको उत्साहलाई थप बढाउन शनिबार कलाकारहरू प्रदीप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी विभिन्न चलचित्र हलहरूमा दर्शकलाई भेट्न पुगे । हलमा पुग्दा दर्शकले चलचित्रको अत्यधिक प्रशंसा गर्दै माया दर्शाए । ललितपुरको पुलचोकस्थित क्युएफएक्स हलमा चलचित्र हेरेपछि दर्शकले ‘एक्टर: टेक टु’ को माग गर्दै नारा लगाएका थिए ।
प्रदीप खड्काको अभिनय, राजबल्लभ कोइरालाको पुनरागमन, दिव्या रायमाझीको उत्कृष्ट डेब्यु तथा आना शर्माको सशक्त अभिनयको प्रशंसा भइरहेको निर्माणपक्षले दाबी छ । निर्देशकको कुशल प्रस्तुतिलाई समेत सराहना गरिएको निर्माणपक्षले दाबी गरेको छ ।
चलचित्रमा प्रदीप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।
अधृत फिल्म्स र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की तथा सह-निर्माता अनीश भुसाल रहेका छन् ।
