ऐतिहासिक कथामा आधारित ‘जार’लाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज सिनेमाले वितरण गर्दै

काठमाडौं । वैशाख २६ गते चलचित्र ‘जार’ रिलिज हुँदै छ । सौगात मल्ल र अनुपविक्रम शाही मुख्य भूमिकामा रहेको यो सिनेमाको अर्को प्रमुख पात्र हुन्, गितान्जली थापा ।

यो चलचित्रको पोस्टर सार्वजनिक भइसकेको छ । सार्वजनिक पोस्टरमा सौगात र अनुपको साइड फेस लुक्स छ भने कर्णालीकी एक युवतीको गेटअपमा गितान्जली छिन् । गितान्जलीका लागि सौगात र अनुपविक्रमबीचको द्वन्द्व सिनेमामा देख्न सकिने पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।

यसबारे निर्माणपक्षले केही जानकारी भने दिएको छैन । जंगलमा भइरहेको दुई व्यक्तिको हतियारसहितको मारपिटमा उत्रिएको पोस्टरमा देखिएको दृश्यले यो चलचित्रमा एक्सन हेर्न पाइने निश्चित जस्तै छ ।

यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले वितरण गर्दैछन् । विनोदको वितरण कम्पनी सेभेन सिज सिनेमाले यो चलचित्रलाई भारत बाहेकका मुलुकमा वितरण गर्नेछ ।

अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले वितरण गर्ने यो चलचित्रले दर्शकको मन जित्न सक्छ वा सक्दैन यो चासोको विषय बनेको छ । यो चलचित्रले कति कमाउँछ भन्नेमा पनि यो सिनेमा रिलिजपछि दर्शकले चासो दिनेछन् । किनकी विनोद तिनै निर्माता हुन्, जसले पहिलो चलचित्रबाट नेपाली चलचित्रका अधिकांश रकेर्ड तोड्न सफल भए । त्यसैले उनले वितरण गर्ने सिनेमामा पनि दर्शकको चासो रहनेछ । यो स्वभाविक पनि हो ।

वितरक विनोद र उनको वितरक कम्पनीले सिनेमा चलाउन कति मेहनत गर्नेछ र कति आइडिया लगाउनेछ त्यसले पनि सम्भवत यसको व्यापारको निर्धारणमा केही न केही भूमिका खेल्नेछ ।

गीताञ्जली थापा भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री हुन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।

साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा ‘जार’ निर्माण कम्पनि फेरी टेल पिक्चर्सले बनाएको हो ।

फूर्वा छिरिङ लामाको निर्देशनमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा सिनेमालाई एकसाथ प्रदर्शनमा ल्याउने निर्माण टिमले बताएको छ ।

यो सिनेमाले सन् १८ सयको दशकतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई देखाएको छ । सरवानन इलावार्सुको छायांकन रहेको सिनेमामा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत छ ।