५ दशकपछि फेरि बन्दै ‘मनको बाँध’

काठमाडौं । युवराज कार्कीको डेब्यू निर्देशन चलचित्र ‘मनको बाँध’को निर्माण घोषणा गरिएको छ । निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा सिनेमाको जानकारी गराएको हो ।
यसअघि प्रकाश थापाको निर्देशनमा पनि ‘मनको बाँध’ बनेको थियो । विकास बोर्डकै अग्रसरतामा निर्माण भएको उक्त उक्त चलचित्रमा सल्यान के.सी. र सुष्मा शाही मुख्य भूमिकामा थिए ।
राज्यबाट मनोरञ्जन कर छुट पाउने पहिलो नेपाली सिनेमा रहेको ‘मनको बाँध’ नेपाली चलचित्रको इतिहासमा एउटा महत्त्वपूर्ण सिनेमा मानिन्छ । २०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले यसै नामको चलचित्र निर्माण गरी २०३० सालमा रिलिज गरेको थियो ।
‘मनको बाँध’ अब यही नाममा ५ दशकपछि फेरि अर्को चलचित्र बन्न लागेको हो ।
नेपाल चलचित्र प्राविधिक सङ्घका महासचिव समेत रहेका युवराज अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन् । उनले ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता चलचित्रहरूमा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका थिए । त्यसै गरी, उनी दुई वर्ष अगाडी रिलिज भएको चलचित्र ‘के घर के डेरा’मा कार्यकारी निर्माताको भूमिकामा थिए, जसको सिक्वेल हाल पोस्ट-प्रोडक्सनमा रहेको छ ।
‘मनको बाँध’लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन् । हालसम्म कलाकार तथा प्राविधिकहरूको नाम खुलाइएको छैन ।
निर्देशक कार्कीका अनुसार चलचित्र ‘मनको बाँध’ ग्रामीण जीवनका सङ्घर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका गहिरा विषयमा आधारित हुनेछ । विशेष गरी, यसले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रूपमा चित्रण गर्ने बताइएको छ ।