हरिवंश आचार्य भन्छन्- चलचित्र बनाउनु भनेको देश बनाएजस्तै

काठमाडौं । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभमुहूर्त भएको छ । सोमबार वसन्त पञ्चमीको अवसर पारेर मुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो ।

 भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी छायांकन सुरु गरिएको चलचित्रलाई ४५ दिनको सेड्युलमा काभ्रेपछि काठमाडौं उपत्यकामा खिचिने निर्माण पक्षले बताएको छ ।

चलचित्रमा अभिनेता हरिवंश आचार्य, किरण केसी, प्रकाश सपूत, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, मुरलीधर लगायतको पनि अभिनय रहनेछ ।

दशकअघिको चर्चित सिरियल ‘मदनबहादुर-हरिबहादुर’मा हरिवंश आचार्यले निर्वाह गरेको हरिबहादुरको चरित्रबाट प्रभावित भएर यो चलचित्र बन्न लागेको हो । यसमा हरिवंशले हरिबहादुरकै भूमिका निभाउने बुझिएको छ । 

मुहूर्त समारोह कार्यक्रममा अभिनेता हरिवंश आचार्यले आजदेखि नै चलचित्रको प्रचारप्रसार सुरु भएको बताएका छन् । चलचित्र एक वर्ष लगाएर लेखेको र चलचित्र देश बनाए जस्तै भएको बताए । देश बनाउँदा पनि बिग्रिएपछि सकिने र चलचित्र पनि बिग्रिएपछि सकिने टिप्पणी गरे ।

अभिनेता आचार्यले सिनेमा बनाउन सजिलो नरहेको अनुभव सुनाए । उनले भने, ‘चलचित्र बनाउने बेला धेरै तनाव हुन्छ । र, चलचित्र बनाउनलाई टिम एकदमै बलियो चाहिन्छ । बलियो टिममा फेरि पैसा पनि बलियो चाहिन्छ । अचेल चलचित्र बनाउन धेरै खर्च हुन्छ ।’

अभिनेता किरण केसीले आजबाट चलचित्र सुरु भएको र सबैको मेहनतले राम्रो सिनेमा बन्ने बताए ।

शुभ मुहूर्तमा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई मन लागेको टिमसँग काम गर्न मौका पाउँदा खुशी लागेको बताइन् ।

यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा काम गर्न पाउँदा धेरै खुशी रहेको बताइन् । उनले आफू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ अभिनीत सिरियलहरूमा काम गर्ने इच्छा रहेको र आज आएर चलचित्रमा काम गर्न पाउँदा धेरै खुशी लागेको बताइन् ।

निर्देशक खनालले अघिल्ला चलचित्रमा सिकेको कुरा यसमा लागु गर्ने बताए । ‘म यस सिनेमालाई लिएर उत्साहित छु । मैले आजसम्म धेरै चलचित्र निर्देशन गरेँ । त्यो सबैबाट सिकेको, जानेको र बुझेको कुरा यसमा राख्ने कोसिस गर्नेछु,’ उनले भने ।

हरिवंश र प्रकाशसँग दीपेन्द्रको यो पहिलो सहकार्य हो । उनले यसअघि प्रियंका र स्वस्तिमासँग काम गरिसकेका छन् ।

एम.एम मोस पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् ।