‘रंगी’मा मलिका महत पनि, भ्यालेन्टाइन लक्षित शीर्ष गीत सार्वजनिक

काठमाडौं । सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको चलचित्र ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक भएको छ । आगामी फागुन २ गतेबाट रिलिज हुने सिनेमाको सार्वजनिक भ्यालेन्टाइन लक्षित गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर रहेको छ ।

गीतमा आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका कलाकार सलोन बस्नेत र मलिका महत फिचर्ड छन् । रोमान्टिक फ्लेभर रहेको भिडियोमा चिया बेच्दै हिँडेकी मलिकासँग सलोनको भेट र त्यसपछि उनीहरुबीच अंकुराएको प्रेमलाई देखाइएको छ । जहाँ उनीहरुलाई प्रेम, विवाह र सन्तानको अभिभावक बन्ने अवस्थासम्मको दृश्य देख्न सकिन्छ ।

निर्माण पक्षले हालसम्म मलिकाको नाम गोप्य नै राखेको थियो । सलोनकी श्रीमति को हुन्छिन् भन्ने कौतुहलता यो गीतले मेटाइदिएको छ ।

चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेका छन् ।

चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

यो चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।