लगातार फ्ल्प हुँदै चलचित्र, दीपक भन्छन्– तिहारपछिका चलचित्रले पोस्टरको पैसा पनि उठाएनन्

काठमाडौं । पछिल्लो केही महिना यता लगातार नेपाली चलचित्र कमजोर सावित भइरहेका छन् । मेकिङमा औसत भनिएका चलचित्र पनि बक्सअफिसमा फ्ल्प भइरहेका छन् ।

पहिलो दिन हललले उपलब्ध गराएको शो टिकाउन पनि सिनेमालाई कठिन भइरहेको छ । ‘तेलभिसा’ले औसत व्यापार गरे पनि त्यसयताका कुनै पनि चलचित्रले बक्सअफिसमा आफूलाई सफल प्रमाणित गर्न सकेका छैनन् ।

‘अग्निदहन’, ‘देववाणि’, मिसिङ : केटी हराएको सूचना’, ‘एक्टर’, ‘बमबहादुर’, ‘फिरफिरे फिरिरी’, लगायत चलचित्र असफल भए । अहिले हलमा रहेको ‘एक्टर: टेक वन’ पनि सोचेभन्दा पनि कमजोर भयो । स्टारकास्ट भएका र न्यू फेस कसैले पनि बलियो उपस्थिति देखाउन सकेनन् ।

बक्सअफिसमा असफल हुँदा यी चलचित्रले लगानी उठाउन सकिरहेका छैनन् । लगानी रिकभर गर्ने त परको कुरा त्यसको सानो अंश पनि कलेक्सन गर्न सकिरहेका छैनन् । वितरकको पैसा पनि नउठेपछि वितरकलाई खल्तीबाट पैसा दिनुपर्ने अवस्थामा निर्माता छन् ।

सिनेमाको यो व्यापार नजिकबाट अवलोकन गरिरहेका हल व्यवसायीसमेत रहेका कलाकार दीपकराज गिरी तिहारपछिका चलचित्रले पोस्टरको पैसा पनि नउठाएको बताउँछन् । फरक प्रसंगमा एक अनलाइन मिडियासँगको कुराकानीमा उनले तिहारपछि रिलिज भएका चलचित्रले पोस्टरको पैसा पनि उठाउन नसकेको बताएका छन् ।

त्यसैले सिनेमाको बिजनेस सधैँ ठूलो रिक्समा हुने उनले बताएका छन् । उनले भनेका छन्, “पूर्ण बहादुरको सारङ्गी, १२ गाउँ, छक्का पञ्जा–५ चलको चलचित्र उद्योगमा त्यसपछि आएका चलचित्र कति चले ? अधिकांश चलचित्रको पोस्टरको पैसा पनि उठेको छैन ।”

लगातार चलचित्रको व्यापार ओरालो लागेपछि निर्माताह चलचित्र रिलिज गर्न डराइरहेका छन् । स्टारभ्यालु भएका सिनेमाले समेत दर्शक बटुल्न नसकेपछि तिहारसम्म गज्जब देखिएको नेपाली चलचित्रको बजारमा पुनः खडेरी लागेको छ ।