‘राजागंज’को टिजरमा मधेस आन्दोलन र अपहरणको कथा

काठमाडौं । चलचित्र ‘राजागंज’को टिजर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक टिजरले चलचित्रको कथा संकेत गरेको छ ।

मधेस आन्दोलन र त्यस क्रममा पहाडे समुदायले भोग्नु परेको समस्या र त्रासदी टिजरमा छ । पहाडे समुदायकी महिलासँग विवाह गरेकै भरमा तत्कालीन समयमा मधेसमा एक परिवारले भोग्नु परेको घटना टिजरमा छ ।

पहाडे युवतीसँग विवाह गरेका मधेसी त्यो पनि सभासदले त त्यति ठूलो समस्या भोग्नु प¥यो भने मधेस आन्दोलनको समयमा मधेसमा बस्ने पहाडी समुदायले कति समस्या भोगे होला भन्ने कथा चलचित्रले देखाउने संकेत गरेको छ ।

सेतो छाला हुनु पनि समस्या थियो भन्नेतर्फ पनि चलचित्रले कथा भन्ने टिजरले संकेत गरेको छ ।

दीपक रौनियारको निर्देशन रहेको चलचित्रमा महिला पात्र मुख्य भूमिकामा छन् । दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

‘राजागंज’ चैत १ गतेबाट रिलिज हुनेछ । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्नेछन् ।

सत्य घटनाबाट प्रेरित रहेको ‘राजागंज’ले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको बताइएको छ ।