दिव्या भन्छिन्– ‘माया प्रीति’को कथा मैले खोजेजस्तै, अपोजिटमा प्रदीप !

काठमाडौं । चलचित्र ‘एक्टर : टेक वान’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली चलचित्र ‘माया प्रीति’मा प्रमुख भूमिका निभाउने भएकी छन् ।

रोमान्टिक कमेडी यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ । श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन्‌ ।

कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधबार दिब्यालाई आधिकारिक रूपमा अनुबन्ध गरेका छन् ।

चलचित्रमा अनुबन्ध भएपछि रायमाझीले आफू नेपाली सिनेमाको संस्कारमा हुर्किएकी भएकाले राम्रो स्क्रिप्ट छनोट गर्न सजिलो भएको बताइन् । ‘माया प्रीति’को कथा आफूले खोजे जस्तै भएको उनको भनाइ छ ।

वन टू थ्री स्टुडियोजको ब्यानरमा निर्माण हुने यस चलचित्रमा चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहनेछिन् ।

यस चलचित्रको छायांकन चाँडै सुरु हुने बताइएको छ । अन्य कलाकारहरूको घोषणा क्रमशः गरिने बताइएको छ ।

दिव्याको अपोजिटमा हिरो को हुने भन्ने निर्माणपक्षले खुलाइसकेको छैन । तर, स्रोतका अनुसार प्रदीप खड्कासँग कुरा भइरहेको छ । प्रदीप र दिव्याले ‘एक्टर : टेक वान’ र ‘पिताम्बर’मा सँगै काम गरिसकेका छन् । ‘पिताम्बर’ भने रिलिज हुन बाँकी छ ।

यदि, प्रदीप अनुबन्ध भए पनि यो अनस्क्रिन जोडीलाई काम गर्न सहज भने हुनेछ ।