फागुन १४ लाई विज्ञापनिक सूचना गर्दै आयो– ‘लाज शरणम्’को प्रेमिल गीत ‘हेर्दा हेर्दैमा…’

काठमाडौं । ठूलो हाट अनि हजारौँ मान्छे । तर सबै आ–आफ्नै ध्याउन्नमा । भीडमा कसैको बच्चा हराएको छ । हराएको ७ वर्षको बच्चा फेला परेको भन्दै माइकबाट सूचना प्रशारण भइरहेको छ ।
व्यापारी आफ्नो सामान बेचिरहेका छन् । ग्राहक आफूलाई मन परेको र चाहिएको सामान किनिरहेका छन् । रोटे पिङ खेल्नेहरु खेलिरहेका छन् । अल्लारे युवा यताउता टहलिरहेका छन् ।
ठिक त्यही बेला अर्को सूचना बज्छ– यही फागुन १४ गते महाशिवरात्रीको दिन तपाईँंहरूको नजिकैको सिनेमा घरमा, नेपाली कथानक चलचित्र लाज शरणम् । सिनेमा हेर्न आउन माइकबाट कसैले विज्ञापनिक सूचना पढ्छ ।
अनि सुरु हुन्छ, चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ । यो गी निर्माणपक्षले आज सार्वजनिक गरेको छ ।
गीतमा शान्तीश्री परियार र आशिष अविरलको स्वर छ । आनन्द अधिकारीको शब्दरचना रहेको गीतमा कृष्ण भारध्वजले संगीत गरेका छन् ।
एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । प्रेममा रहेका प्रेमी प्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना बुझ्ने गीतको शब्द र भिडियोले बताएको छ ।
गीतमा सरल शब्द र लय छ । एकपटक सुनेपछि सम्झन सकिने खालको गीत छ । पछिल्लो समय स्रोताले यस्तै गीत रुचाएको पाइन्छ । सरल शब्द र मिठो मेलोडी भएका गीत चलेको समयमा यो गीत मिसिन आइपुगेको छ ।
गीतको भिडियोमा माला लिम्बू, गजित विष्टसँगै चलचित्रका अधिकांश मुख्य कलाकारको अभिनय छ । गेष्ट अपिरियन्सको रुपमा गजित छ । तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडियो खिचिएको छ ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । यो चलचित्र फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।