‘द्रौपदी’ को गीत ‘कर्णाली काटौला’ सार्वजनिक

काठमाडौं । चैत ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘द्रोपदी’को ‘कर्णाली काटौला’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सेन्सर बोर्डका सदस्यसमेत रहेका ऋषिराज आचार्यको निर्देशनमा तयार भएको सिनेमाको बिहीबार नयाँ बानेश्वरस्थित वान सिनेमा हलमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो ।
‘कर्णाली काटौला’ गीतमा रबि ओड र इन्द्रकला राईको आवाज रहेको छ भने निर्देशक आचार्यको शब्द, रवी ओडको संगीत रहेको छ ।
बिष्णु ठडराईको कोरियोग्राफीमा तयार पारिएको गीतको भिडियोमा डेब्यु अभिनेत्री आश्वीनी शाही, निर्देशक आचार्य, गायक ओड र सुजाता तिमिल्सिनालाई प्रेमील भावमा प्रस्तुत गरिएको छ ।
गायक ओड, सुजाता र आश्वीनीले यही चलचित्रमार्फत ठूलो पर्दामा डेब्यु गरेका हुन् । डोल्पाको जनजीविका र भौगोलिक विकटतालाई समेत चित्रण गरिएको गीतलाई डोल्पाको शे-फोक्सुण्डो तालसहित कर्णालीका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो ।

आर.बी. मुभिजको ब्यानरमा निर्माण भएको यस चलचित्रमा आश्वीनी शाही, रवी ओड, कबिराम भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य मुख्य भूमिकामा छन् ।
चलचित्रमा निर्देशक आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह-निर्माताको भूमिकामा छन् । सिनेमाका लेखक ऋषिराज आचार्य हुन् भने सम्पादन अनिल महर्जनले गरेका छन् । सौरभ शर्माको पार्श्व संगीत रहेको चलचित्रको छायांकन मोहनकुमार झिल्लुले गरेका छन् ।
चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, एफ.डी. कम्पनी र रिच इन्टरटेनमेन्टले संयुक्त रूपमा गर्नेछन् ।