दोस्रो सातामा ‘एक्टर: टेक वन’, व्यापारबारे निर्माता मौन

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘एक्टर: टेक वन’ दोस्रो हप्तामा प्रवेश गरेको छ । वितरण कम्पनी डीसीएनले यो चलचित्रले दोस्रो हप्ताको पहिलो दिन शुक्रबार १०२ शो प्राप्त गरेको दाबी गरेको छ ।
नेपालबाहिर पनि यो चलचित्र विभिन्न देशहरूमा प्रदर्शन भइरहेको छ । हालै चलचित्रको प्रचारका लागि अभिनेता प्रदीप खड्का जापान पुगेका छन् । दुई दिन अघि जापानमा आयोजना गरिएको प्रिमियर शोमा सयौं दर्शकसँग बसेर उनले चलचित्र हेरेका थिए ।
जापानका विभिन्न सहरमा हुने शोहरूमा सहभागी भएर खड्का अमेरिका प्रस्थान गर्नेछन् । उनी अमेरिका र क्यानडाका दर्शकमाझ चलचित्रको प्रचारमा सहभागी हुनेछन् । युरोपका विभिन्न देशहरूमा पनि चलचित्र छिट्टै प्रदर्शन हुँदैछ ।
दर्शकहरूले चलचित्रको क्लाइमेक्सलाई लिएर दस वर्षअघिको सुपरहिट चलचित्र ‘लुट’सँग तुलना गरिरहेका छन् । साथै, यस चलचित्रको दोस्रो भागको माग पनि दर्शकमाझबाट बढिरहेको छ ।
निर्देशक राजन भुसालले यस चलचित्रमार्फत राम्रो तारिफ पाइरहेका छन् भने प्रदीप खड्काले आफूलाई भर्सटाइल अभिनेताका रूपमा पुनः प्रमाणित गरेका छन् । नव-अभिनेत्री दिव्या रायमाझीलाई दर्शकले सकारात्मक रूपमा स्वागत गरेका छन् । त्यस्तै, एक दशकपछि पर्दामा फर्किएका अभिनेता राजबल्लभ कोइराला दर्शकलाई मन परेका छन् भने अभिनेत्री आना शर्माको अभिनयलाई पनि निकै सराहना गरिएको छ ।
‘एक्टर: टेक वन’ दोस्रो हप्तामा प्रवेश गरे गरेसँगै पहिलो हप्ताको व्यापारबारे भने निर्माता मौन रहेका छन् । हालसम्म कुनै पनि व्यापारिक आँकडा सार्वजनिक गरिएको छैन ।
चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालासँगै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । अधृत फिल्म्स र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता थमन कुमार भण्डारी हुन् भने क्रिएटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।