रेखा थापा भन्छिन्– नेपाली चलचित्र हेर्ने पुस्ता घट्दै गयो

काठमाडौं । नायिका रेखा थापाले पछिल्लो समय नेपाली चलचित्र हेर्ने पुस्ता घट्दै गएको बताएकी छन् ।
उनले नेपाली चलचित्रलाई माया गर्न आग्रह पनि गरेकी छन् । उनले नयाँ पुस्तालाई नेपाली सिनेमा संरक्षण गर्न आग्रह गरिन् ।
नायिका थापाले पछिल्लो समय कथा हिरो भइरहेको बताएकी छन् । शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा अहिले व्यक्तिभन्दा कथा हिरो भएको उनको भनाइ छ ।
पर्दामा देखिनु मात्र हिरोइजम नहुने उनको भनाइ छ । उनले भनिन्, “पर्दामा देखिनु मात्र हिरोइजम होइन । हिरोले समाजमा आशा देखाउँछ । हिरोले समाजिक रुपमान्तरणमा कति काम गर्यो भन्ने पनि हेरिनुपर्छ,” उनले भनिन् ।
हिरो कुनै समयको नभएर सधैँका लागि हुने र त्यो योगदानले मात्र सम्भव भएको उनको भनाइ छ ।
“पहिले लिड रोलमा काम गर्नेलाई मात्रै हिरो भनिन्थ्यो । अहिले परिभाषा बदलिएको छ । अहिले चरित्र हो, यो कथा हिरो भइरहेको समय हो । अब हिरो र हिरोइन विस्तापित भएको जस्तो लाग्छ,” उनले भनिन् ।
पछिल्लो समय समाजको हिरोलाई हेर्ने दृष्टिकोण फरक भएको उनको भनाइ छ ।
भूकम्पको समयमा आफू डराउँदा मानिसले हिरोलाई पनि डर लाग्छ र भनेर प्रश्न गर्दा यस्तो परिस्थितिमा पनि आफूहरूले जोगिएर संरक्षणात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन् ।