प्रिमियरमा भक्तराज आचार्यको जीवनीमा बनेको फिल्म आचार्य हेरेर सबै भावुक
काठमाडौं । गायक तथा संगीतकार भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’को बुधबार प्रिमियर शोको आयोजना गरिएको थियो ।
काठमाडौँको कमलपोखरीस्थित विग मुभिजमा आयोजना गरिएको उक्त प्रिमियरमा फिल्म हेर्न साङ्गीतिक क्षेत्रका निकै दिग्गज हस्तीदेखि फिल्मकर्मी, राजनीतिक दलका नेताहरूसमेत उपस्थित रहे ।
गत फागुनमा निधन भएपछि १३ वर्षको अन्तरालमा पुनः नेपाल तथा विदेशमा एकसाथ प्रदर्शनमा ल्याइने फिल्ममा भक्तराज आचार्यको बाल्यकालदेखि संगीत क्षेत्रको १६ वर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना देखाइएको छ ।
असार ७ गते अर्थात् भोलि शुक्रबारबाट पुनः प्रदर्शनमा आउन लागेको फिल्म ‘आचार्य’ हेरे सबैले मन पराएको बताउँदै भक्तराजलाई सम्झिएर भावुक समेत बनेका थिए । भक्तराजलाई महसुस गर्नका लागि यो फिल्म हेर्न आवश्यक रहेको अधिकांशको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)की सांसद सोविता गौतमले आफूलाई असाध्यै मन परेको बताउँदै अरूलाई पनि फिल्म हेर्न अनुरोध गरिन् । उनले भनिन्, ‘भक्तराज आचार्यको बारेमा उनको जीवनमा घटेको घटनापछिका सबै कुरा थाहा भए पनि त्योभन्दा अगाडिको स्ट्रगल आफूलाई थाहा नभएको र उक्त फिल्मबाट आफूले भक्तराज जीको जीवनीलाई अझ नजिक बाट बुझ्न पाए ।’
साथै उनले, सांगीतिक क्षेत्रमा लागेका व्यक्तिले मात्र नभएर सबैले यो फिल्म हेरेर प्रेरित हुन जरुरी रहेको बताइन्।
गायक तथा संगीतकार शम्भुजित बास्कोटाले लामो समयदेखि नै नेपाली संगीततिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका भक्तराजलाई आफूले निकै नजिकबाट बुझेको र उनी निकै राम्रो र सच्चा व्यक्ति रहेको प्रतिक्रिया दिए ।
यसैगरी, संगीतकार चेतन सापकोटाले गायकहरुले दुःख नै पाउँछन् भन्दै भक्तराजको जिब्रो काटियो, नारायण गोपाल छिटै मर्नु परेको बताए । अरुणा लामाले पनि निकै दुःख खप्नु पर्यो भन्दै सङ्गीतको क्षेत्रमा नलाग भन्दा पनि भक्तराज जस्तै अग्रजलाई हेरेर आफू साङ्गीतिक क्षेत्रमा लागेको र अहिले यही क्षेत्रबाट संसारकै खुसी पाएको बताए ।
त्यस्तै गरी गायिका प्राश्ना शाक्यले फिल्म हेरेर भक्कानिँदै भक्तराजको जीवनीलाई महसुस गरेको बताइन् । उनले भनिन्, ‘गहभरि आँसु लिएर भक्तराज जीको हरेक संर्घषले आफूलाई छोएकाे, तर एक गायकको जिब्रो नै काटिएको देख्दा चाहिँ आफूलाई असह्य भयो, सबैले जसरी पनि आचार्य फिल्म हेरिदिनु होला भनेर अनुरोध गर्दछु।’
प्रिमियरमा उपस्थित सबैजसो कलाकारहरूले आफूलाई भावुक बनाएको बताउँदै सत्य र सोरुपको पनि खुलेरै तारिफ गरे ।
यता फिल्ममा आफ्ना पिताको भूमिका निभाएका सत्यराजले आफूले अभिनय गरेको भन्दा पनि आफ्ना पिताको जीवन जिएको बताए । ‘फिल्मले सबै कुरा अटाउन नसकेको हुन सक्छ, त्यसैले अब उहाँको नाममा म किताब निकाल्दै छु, ८ वर्षदेखि लेखिँदै गरेको किताब चाँडो बजारमा ल्याउने छु,’ उनले भने ।
प्रशान्त रसाइलीको निर्देशन रहेको फिल्ममा गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन्। फिल्ममा सुनिल पोखरेल, अरूणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ। यो फिल्मलाई रोशन राईले निर्माण गरेका हुन् ।
देवजंग थापाले पुन: सम्पादन गरेको फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले सिनेमा प्रदर्शन गर्दै छ ।