फूलपातीमा चलचित्र रिलिजका लागि होडबाजी, ‘हरिबहादुरको जुत्ता’ पनि थपियो

काठमाडौं । नेपाली बक्सअफिसमा दशैँको फूलपातीका लागि आधा दर्जनभन्दा बढी चलचित्र रिलिजको तयारीमा छन् । यो भीडमा निर्देशक दिपेन्द्र के. खनालको नयाँ चलचित्र ‘हरिबहादुरको जुत्ता’ पनि थपिएको छ ।
सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायांकन थालिएको चलचित्र २०८२ सालको दशैँको फूलपातीमा रिलिज हुने तय गरिएको छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र सामाजिक तथा हास्य कथावस्तुमा आधारित हुनेछ ।
चलचित्रमा हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खड्का, किरण केसी, मुरलीधर लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । हरिवंश आचार्यकै कन्सेप्ट र कथामा बन्न लागेको यस चलचित्रका निर्माता सरोज ओली र मोहितवंश आचार्य रहेका छन् । ४५ दिनसम्म काभ्रे र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने बताइएको छ ।
हरिबहादुरको चर्चित पात्रबाट प्रेरित ‘हरिबहादुरको जुत्ता’ दशैँ विशेष चलचित्रका रूपमा दर्शकमाझ आउँदैछ । यसअघि नै ‘महाराजधिराज’, ‘बलिदान’, ‘डबल त्रिपल’, ‘परालको आगो’, ‘दशमी’, ‘जेरीः अन टप’, ‘माइतीघर’ जस्ता चलचित्रहरूले पनि दशैँको रिलिज मिति घोषणा गरिसकेका छन् । वितरकहरू भने एकसाथ धेरै चलचित्र रिलिज हुँदा व्यापार प्रभावित हुन सक्ने बताउँछन् ।
चलचित्र बजारमा दशैँलाई लक्ष्य गर्दै गरिएको यो भीडले दर्शकलाई भने कुन चलचित्र छान्ने भन्ने द्विविधामा पार्ने देखिन्छ । तथापि, निर्माता तथा निर्देशकहरूका लागि यो चाडपर्व विशेष समय भएकाले उनीहरू दशैँ रिलिजका लागि होडबाजी गरिरहेका छन् ।
यसरी चलचित्रको संख्या हेर्ने हो भने यो दसैँमा चलचित्रको भीड होइन महाभीड लाग्नेछ । जबकी वितरकहरू स्वयं भने दुईवटा भन्दा धेरै चलचित्र रिलिज हुन नहुने बताउँदै आएका छन् । दुईभन्दा बढी चलचित्र रिलिज हुँदा शो नपुग्ने र राम्रो चलचित्रले पनि व्यापार गर्न नसक्ने वितरहरूको तर्क छ ।