‘अच्छा लिकिन’ को रिमेक भर्जन खिचिएसँगै ‘नरसिंहाः अवतार’को छायाकंन सम्पन्न

काठमाडौं । दिवाकर भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘नरसिंहाः अवतार’को छायाकंन सम्पन्न भएको छ ।

आउँदो चैत्र २९ गते प्रदर्शन मिति तय गरिएको सिनेमाको ५० दिनमा सकिएको निर्देशक भट्टराईले जनकारी दिए ।

केही दिन अघि चलचित्र ‘दैव संजोग’मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’को रिमेक भर्जनको छायाकंन गर्दै ‘नरसिंहाः अवतार’को छायाकंन पूरा गरिएको बताए ।

पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर रहेको थियो । तर, नयाँ संस्करणमा शम्भुजितकै संगीतमा गायिका रचना रिमालको स्वर सुन्न सकिने निर्देशक भट्टराईले बताए ।

तीन दिन लगाएर छायांकन गरिएको गीतको भिडियो हिमालयको मनोरम दृश्यकै बीच जरसिंह पौवामा खिचिएको थियो । गीतको कोरियोग्राफी चर्चित कोरियोग्राफर कविराज गहतराजले गरेका छन् ।

मौसम र उडेको धुलोका कारण छायांकनमा केही कठिनाइ भए पनि टिमले उत्कृष्ट नतिजा निकाल्ने विश्वास व्यक्त गरेको छ । निर्देशक भट्टराईका अनुसार यो गीतको भिडियो निर्माणमा झन्डै १५ लाख रुपैयाँ खर्च गरिएको छ ।

गीतको भिडियोमा अभिनेता राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराईको नृत्य देख्न सकिन्छ ।

राजेश हमालले यो गीतले आफूलाई विगतमा फर्काएको बताए । उनले दर्शकहरूले गीत मन पराउनेमा आशावादी रहेको बताए । भिडियोमा हमाल र कटुवाललाई कर्नेलको भूमिकामा देख्न सकिनेछ ।

३२ वर्षपछि हमाल र सरोज खनालले एउटै चलचित्रमा सहकार्य गरेका छन् । यही कारण गीतको छायांकनका क्रममा उनीहरू विशेष उत्साहित देखिएका थिए । गीतको भिडियोमा सय जना कोरस डान्सर र उत्तिकै संख्यामा दर्शकको सहभागिता रहेको छ ।

एक्सन र लभस्टोरी समावेश फिल्म ‘नरसिंहाः अवतार’ दर्शकलाई विविध अनुभव दिने अपेक्षा गरिएको छ । अभिनेता कटुवालले नायक हमालसँग नाच्नुपर्दा सुरुमा डर लागेको तर पछि सहज भएको बताए । उषा खड्गीको यो डेब्यू सिनेमा भएकाले उनी ‘नरसिंहाः अवतार’लाई लिएर उत्साहित छिन् ।

८ वर्षपछि पर्दामा फर्किरहेका राजेश हमाललाई दर्शकहरूले कसरी स्वागत गर्छन् भन्ने चासो निर्माण टिमलाई छ । अब दर्शकले हमालको पुनरागमनलाई कत्तिको रुचाउँछन् भन्ने फिल्म रिलिजपछि थाहा हुनेछ ।

‘नरसिंहाः अवतार’मा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिसा भट्टराई, प्रशान्त ताम्राकार, नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्रमा नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने र नरेन्द्र महर्जनको लगानी छ ।