सौरभ चौधरी ‘कर्मा’लाई किन गोप्य राख्न चाहन्छन् ?

काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र हो, ‘कर्मा’ । उनको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो । यसअघि निर्देशक चौधरीले ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेका थिए, जसले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।

एक्सन ड्रामा चलचित्र बताइएको ‘कर्मा’को हाल काठमाडौंमा अन्तिम दृश्यहरू छायांकन भइरहेका छन् । तर, चलचित्रको निर्माणपक्षले यसको कथावस्तु र थप जानकारीलाई गोप्य राख्दै आएको छ, जसले अझै कौतुहलता बढाएको छ ।

गत मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको थियो ।

‘कर्मा’मा अभिनेता विपिन कार्की, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता मुकुन भुसाल र दिव्य देव पन्त मुख्य भूमिकामा रहेका छन् । विपिन र उपासना पहिलो पटक सहकार्य गर्दै छन् भने अभिनेता मुकुनलाई नेगेटिभ भूमिकामा देख्न पाइने बताइएको छ ।

विशेषगरी अभिनेता विपिन कार्की पहिलोपटक एक्सन अवतारमा देखिने भएकाले दर्शक निकै उत्साहित छन् । जसले दर्शकमा अझै कौतुहलता बढाएको छ ।

निर्देशक सौरभ चौधरीले ‘कर्मा’को कथावस्तु खुलाउन नचाहने कारणबारे स्पष्ट पारेका छैनन् । उनी भन्छन्, “हामीले दिनरात मेहनत गरिरहेका छौँ, छायांकन केही दिनमै पूरा हुन्छ । अहिले नै सबै जानकारी किन खोल्न पर्‍यो र? प्रतीक्षाको फल मिठो हुन्छ, सबै कुरा उचित समयमा खुल्नेछ।”

किन भन्ने प्रश्नमा निर्देशक चौधरी भन्छन्- “अहिलेसम्म कुनै बाधा-अड्चन बिना हामीले दिनरात नभनी अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौँ । अबको केही दिनमै छायांकन पूरा हुनेछ, सँगै पोस्ट-प्रोडक्सनको कामलाई पनि तीव्रता दिँदै छौँ । अब केही दिनको कुरा न हो, बिस्तारै यसका सामाग्रीहरू बाहिर आउने नै छन् । अहिले नै किन खुलाउने पर्‍यो र, प्रतीक्षाको फल मिठो हुन्छ भन्छन् अहिलेलाई यही बुझ्नुस् न ।”

चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ । तर, निर्माणपक्षले कुनै प्रमोशनल सामग्री सार्वजनिक नगरेका कारण रिलिज मिति सर्ने हल्ला पनि चलेको छ । तर, चौधरीले यी हल्लालाई खण्डन गर्दै भने, “पहिला त यस्ता गलत हल्लामा नलाग्न अनुरोध गर्दछु । काम तीव्र गतिमा भइरहेको छ, हामी पूर्वनिर्धारित मितिमै चलचित्र प्रदर्शन गर्छौँ ।”

चौधरी अघि थप्छन्- “हो, हाम्रो सिनेमाको छायाकंन भइरहेको छ, फेरी हामीले कुनै सामाग्री पनि त बाहिर ल्याएका छैनौँ त्यही भएर यस्ता हल्ला बाहिर आएका हुन सक्छन् । बस अहिलेलाई यति मात्र भन्न चाहन्छु चैत्र २९ दर्शकलाई उत्कृष्ट सिनेमेटिक अनुभव दिन चाहन्छौँ । आम दर्शकहरूका लागि विशेष हुन्छ । पूर्व निर्धारित मिति मा एक दुई पनि हुँदैन ।”

‘कर्मा’को कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । चलचित्र ‘कर्मा’को छायांकन चरणमै सम्पादन र भिएफएक्सको काम समेत भइरहेको उनले जानकारी गराए ।

छायांकन सुरु हुनु अगावै ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । सेभेन सिज सिनेमाले यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ । यसले ‘कर्मा’प्रति वितरकहरूको उच्च चासो रहेको संकेत गर्छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने चलचित्रको छायांकन सञ्जय लामाले गरिरहेका छन् । ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।