नेपाल आइपुगिन् मिस ग्लोब डायना मोरेनो, नोभेम्बर मिस्टर एन्ड मिस नेसनल नेपाल’ को जज रुपमा देखिने

काठमाडौं । ‘द मिस ग्लोब २०२४’ की विजेता डायना मोरेनो नेपाल आएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी मंगलबार नेपाल आइपुगेकी हुन् ।

नेपाल भ्रमणको क्रममा उनी ‘नोभेम्बर क्लोथिङ मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ सौन्दर्य प्रतियोगिताको अडिसनमा जजको रूपमा सहभागी हुने छिन् ।

डायनाको नेपाल बसाइ पाँच दिनको रहनेछ । फेब्रुअरी १५ (फागुन ३) देखि काठमाडौंमा सुरु हुने सौन्दर्य प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे शो आयोजना गर्ने योजना बनाएको छ । यसै सन्दर्भमा डायना काभ्रेपलाञ्चोकमा फेब्रुअरी १५ मा हुने वर्ल्ड युथ फेस्टिभलमा पनि सहभागिता जनाउनेछिन् ।

सौन्दर्य प्रतियोगिताको आयोजक सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्यायका अनुसार यो वर्षदेखि काठमाडौं अडिसनमै अन्तर्राष्ट्रिय जजलाई समावेश गरिएको छ । उनले भने, ‘डायनाले नेपालको सौन्दर्य प्रतियोगिता र फेसन उद्योगलाई टेवा पुर्‍याउने विश्वास लिएका छौं ।’

नेपाल भ्रमणका क्रममा डायनाले काठमाडौं उपत्यकाका प्रमुख पर्यटकीय तथा सांस्कृतिक सम्पदाहरूको अवलोकन गर्नेछिन् । साथै, विश्व सम्पदा सूचीमा रहेका क्षेत्रहरूमा उनको फोटोसुट पनि गरिनेछ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका अधिकारीहरूसँग पनि उनको भेटघाट तय भएको छ ।

मार्च २ सम्म चल्ने ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को अडिसन काठमाडौं उपत्यका, विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगन्ज र धनगढीमा हुनेछ । १८ देखि ३२ वर्ष उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्ने यस प्रतियोगितामा उचाइ र लिङ्गसम्बन्धी कुनै मापदण्ड तोकिएको छैन ।

सन् २०२४ मा अल्बानियामा सम्पन्न ‘मिस ग्लोब’ को फिनालेमा कोलम्बियाकी डायनाले उपाधि जितेकी थिइन् भने नेपालबाट मोनिका अधिकारीले प्रतिनिधित्व गरेकी थिइन् । उनी टप १५ भित्र पर्न सफल भएकी थिइन् । मिस्टर एन्ड मिस नेसनल नेपाल अन्तर्गत मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल र मिस्टर टुरिजम वर्ल्ड गरी ६ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइज समेटिएको आयोजकले जनाएको छ ।