सुहानापछि ‘परालको आगो’ मा जितु, ‘चामे’ खगेन्द्र कि जितु ?

काठमाडौं । स्व.गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण हुन लागेको चलचित्र ‘परालको आगो’मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् ।
निर्माता सुशील पोखरेलले उनलाई चलचित्रका प्रमुख पात्रमध्ये एकका रूपमा अनुबन्ध गरेका हुन् । यसअघि अभिनेत्री सुहाना थापा गौँथलीको भूमिकामा फाइनल भइसकेकी छन् भने अभिनेता खगेन्द्र लामिछाने चामेको भूमिकाका लागि लगभग निश्चित छन् । खगेन्द्रसँग औपचारिक सम्झौता मात्र बाँकी रहेको जानकारी प्राप्त भएको छ ।
चलचित्रमा चामे र गौँथली श्रीमान्-श्रीमतीका रूपमा प्रस्तुत गरिनेछ भने अर्को महत्वपूर्ण पात्र जुठे दमाईको भूमिकामा पनि एक चर्चित कलाकारलाई चयन गर्ने तयारी भइरहेको छ ।
निर्माता पोखरेलका अनुसार जितु नेपाल चामे वा जुठे दमाईमध्ये एक पात्रको भूमिकामा रहनेछन्, तर हालसम्म यो गोप्य राखिएको छ ।
‘परालको आगो’ श्रीमान्-श्रीमती चामे र गौँथलीको कथा हो । यसमा दुई पात्रको झैँझगडालाई परालको आगोको संज्ञा दिइएको छ । परालको आगोझैँ श्रीमान्-श्रीमतीको झगडा पनि क्षणिक र अस्थायी हुन्छ भन्ने कथाको मूल भाव हो ।
चलचित्रको छायांकन संकल्प भुजेलले गर्नेछन् भने कोरियोग्राफी रामजी लामिछानेले सम्हाल्नेछन् । यो सिनेमामा सत्य–स्वरुपराज आचार्यको संगीत रहनेछ ।
निर्माता पोखरेलले यसअघि ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ चलचित्र निर्माण गरिसकेका छन् ।
चलचित्र ‘परालको आगो’लाई फरक शैलीमा प्रस्तुत गर्ने योजना बनाएको र लोकेसन, पटकथा तथा प्रस्तुतीकरणमा विशेष ध्यान दिइने पोखरेलले बताएका छन् । चलचित्रको निर्देशन लक्ष्मण सुनारले गर्नेछन् ।
चलचित्र ‘परालको आगो’ को प्रदर्शन २०८२ सालमा गर्ने योजना बनाइएको छ । करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले यही नाममा चलचित्र निर्माण गरिसकेका थिए ।