‘रंगी’ समाजको कथा हो – सलोन बस्नेत

काठमाडौं । चलचित्र ‘होस्टल’देखि अभिनेता बनेका सलोन बस्नेत अब निर्माता तथा मुख्य अभिनेताको भूमिकामा चलचित्र ‘रंगी’ लिएर फागुन २ गते अर्थात् यही शुक्रबारबाट दर्शकमाझ आउँदैछन् ।

अभिनेता बस्नेतले छोरी सान्भिकाको नाममा स्थापना गरेको सान्भी इन्टरटेनमेन्ट प्रालिमार्फत चलचित्र ‘रंगी’ निर्माण गरेका हुन्, जसमा उनले एक संघर्षशील बाबुको भूमिका निर्वाह गरेका छन् ।

सलोनले ‘रंगी’मा पहिलो पटक बाबुको भूमिकामा अभिनय गरेका उनी फूड डेलिभरी गर्ने व्यक्तिको भूमिकामा देखिएका छन् । ‘रंगी’ समाजको कथा रहेको जानकारी दिँदै दर्शकहरुलाई केही फरक दिउँ भनेर नै यो सिनेमा बनाएको बताउँछन् ।

सलोन भन्छन्, ‘म एक बाबुको चरित्रमा छु, जसले छोरीको पालनपोषण, शिक्षादिक्षा र भविष्यका लागि संघर्ष गर्छ ।’

सलोनले सामाजिक सञ्जालमा फूड डेलिभरी गर्ने एक व्यक्तिको भिडियो देखेपछि फिल्म बनाउन प्रेरित भएको बताए । ‘त्यो भिडियोमा एक डेलिभरी गर्ने व्यक्ति दुर्घटनामा परे पनि, उनले आफ्नो कामलाई प्राथमिकता दिएका थिए । त्यो कुरा मेरो मनमा बस्यो, त्यसैले निर्देशक सुरेश न्यौपानेसँग फिल्म बनाउने निर्णय गरें’, उनी सम्झिन्छन् ।

सलोनका अनुसार, ‘रंगी’ आम मानिसले देखेर पनि बेवास्ता गरेका कथा बोल्ने सिनेमा हो । ‘हामीले फूड डेलिभरी गर्ने व्यक्तिहरूलाई हरेक दिन देख्छौं, तर उनीहरूको कथा बुझ्दैनौं । यही कथालाई सिनेमामार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौं,’ उनले थपे ।

छोरी जन्मिएपछि आफ्नो सोच र जीवनमा परिवर्तन आएको बताउँदै सलोनले भने, ‘अब केही नयाँ गर्नुपर्छ भन्ने महसुस भयो । अभिनय बाहेक सिनेमा निर्माणमा हात हाल्ने निर्णय गरेँ ।’

चलचित्रको छायांकनका क्रममा प्रमुख बाल कलाकार नपाउँदा सुटिङ सार्नुपरेको उनले खुलाए । अन्ततः सञ्जोग रसाइलीको सुझावमा आयुषी ढकाललाई बाल कलाकारको रूपमा चयन गरिएको बताए ।

निर्देशक सुरेश न्यौपानेको डेब्यू निर्देशन रहेको ‘रंगी’मा सलोनसँगै नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।