‘दुखी आत्मा’लाई अहिले गाली गर्नेहरू चलचित्र हेरेपछि पछुताउनेछन्

दुःखी आत्माको कन्टेन्ट हेरेर तालीभन्दा गाली धेरै आइरहेको हो ?
गाली र ताली दुवै आइरहेका छन् । गाली गर्नेहरू प्रसंगै नबुझी गाली गरिरहनुभएको छ । गाली गर्न पाइन्छ, तर गाली गर्नुको कारण पनि दमदार हुनुपर्‍यो नि । अश्लीलता फैलायो भन्ने आरोप उहाँहरुको हो । तर, समाजमा फिल्मले अश्लीलता फैलाउँदैन । फिल्मले अश्लीललता फैलाउने, हिंसा भड्काउने हो भने त संसारका विकसित देशहरूले फिल्ममाथि उहिल्यै प्रतिबन्ध लगाउनुपर्ने हो । अहिले जसले गाली गरिरहनुभएको छ, फिल्म हेरेपछि उहाँहरुलाई पछुतो हुनेछ, आफूले किन गाली गरेछु भनेर ।

अनपेक्षित व्यक्तिहरूको टिमबाट एडल्ट कन्टेन्ट आयो भन्ने छ नि ?
कुनै पनि टिम वा मेकरमाथि कसैले पनि एकै खाले अपेक्षा राख्नु हुँदैन । दीपेन्द्र लामाको फिल्म भनेको यस्तो हुनुपर्छ वा यस्तो हुनु हुँदैन भनेर ट्याग लगाउन मिल्दैन । म त झन् कथा छनोट र कथा वाचनशैलीमा विविधता र रचनात्मकता चाहिन्छ भन्ने मान्छे हुँ । त्यसैले नेपाली फिल्ममा नआएको कन्टेन्टलाई उठाउने क्रममा मैले एडल्ट कन्टेन्ट छानेको हुँ ।

यदि, एडल्ट कन्टेन्ट टिजर र ट्रेलरमा भन्दा धेरै छैन भने, किन एडल्ट भन्नुभएको ?
फिल्ममा इरेक्टाइल डिस्फंक्सन विषयलाई उठाइएको छ । पुरुषको यौनांग उत्तेजित नहुने समस्या हो यो । यही विषयका कारण हामीले दुखी आत्मालाई एडल्ट कन्टेन्ट हो भनेर भनेका हौं । तर, सेन्सर बोर्डले १६ माथिका दर्शकले निर्वाध हेर्न मिल्नेगरी पिजी सर्टिफिकेट दिएको छ । अर्थात्, बोर्डको नजरमा यो फिल्म एडल्ट हुँदै होइन ।

दयाहाङ राईलाई एडल्ट कन्टेन्ट सुहाएन भन्ने टिप्पणी छ नि ?
हाम्रो समाजमा कलाकारलाई जिम्मेवारी र दायित्वको बोझ बोकाउने चलन छ । अरुले जे गर्दा पनि भयो, कलाकार चाहिँ अनुशासनमा बस्नुपर्छ भन्ने खालको । अनि आफ्नो दिमाग वा सोच जति साँघुरो छ, त्यही साँघुरोपनभित्र कलाकार वा सेलिब्रिटीलाई खुम्च्याउन उनीहरु तल्लीन छन् । उनीहरू समाज वैचारिक रुपमा पुरानै स्तरमा रहोस् भन्ने चाहन्छन् । त्यहीभएर कसैले समाजको साँघुरो घेरा तोड्ने प्रयास गरेमा यस्तै बेतुकका तर्क गरेर समय खराब गर्छन् ।

दयाहाङ र आँचलको जोडी सुहाएन भन्ने छ नि ?
टिजर र ट्रेलरकै भरमा यस्तो भन्नु मुर्खता हो । प्रेम वा सम्बन्ध उस्तै उमेरबीच मात्र हुन्छ भन्ने परम्परागत साँघुरो मानसिकताबाट ग्रसितहरूले गर्ने टिप्पणी हो यो । पहिला फिल्म हेर्नुस्, अनि किन यस्तो जोडी राखिएको रहेछ भन्ने प्रष्ट हुन्छ ।

किन दयाहाङलाई नै रोज्नुभयो ?
अनि कसलाई रोज्नु त ? यो फिल्मको स्क्रिप्ट पढियो भने जसले पनि दयाहाङकै नाम सुझाव दिनेछ । स्क्रिप्टकै डिमान्ड हो दयाहाङ । पात्रको उमेर, मनोविज्ञान र परिपक्वतालाई न्याय दिनसक्ने कलाकार नै दयाहाङ थियो । अरु विकल्प थिएन ।

सोसियल ड्रामा बनाउन चाहने तपाईंमा कसरी यस्तो आइडिया आयो ?
दुखी आत्मा पनि सोसियल ड्रामा नै हो । अघिल्ला फिल्ममाजस्तै मैले यसमा पनि एउटा विषय उठाएको छु । यसपालिको विषय अलि रेगुलर टाइपको चाहिँ होइन । अरुले खासै ध्यान नदिएको वा जोखिम नमोलेको विषय चाहिँ उठाएको हुँ । एकदमै अनौठो वा अर्कै ग्रहको कन्टेन्ट होइन यो, धेरै आश्चर्यचकित हुनुपर्ने कारण देख्दिनँ ।

नेपालमा एडल्ट फिल्मका दर्शक कति छन् ?
राम्रो फिल्मको दर्शक नेपालमा प्रशस्तै छन् । एडल्ट फिल्मको दर्शक बढी वा थोरै भन्ने हुँदैन । फिल्मको पब्लिसिटी टुल्सहरूले दर्शकलाई हलसम्म तान्नुपर्‍यो, अनि हलमा दर्शकलाई साढे दुई घन्टासम्म पकडमा राख्नसक्नुपर्‍यो, यति भयो भने जुनै खाले फिल्मले पनि दर्शकको साथ पाउनेछ ।