‘दुःखी आत्मा’ र ‘रंगी’को शो संख्यामा किन देखियो ठूलो अन्तर ?

काठमाडौं । फागुन २ गते प्रणय दिवसको अवसर पारेर प्रदर्शन हुन लागेका दुई नेपाली चलचित्र ‘दुःखी आत्मा’ र ‘रंगी’ को देशभरका मल्टीप्लेक्सहरूमा बुकिङ खुला भइसकेको छ । तर, यी दुई सिनेमालाई हल सञ्चालकहरूले प्रदान गरेको शो संख्यामा निकै ठूलो अन्तर देखिएको छ ।
विशेषगरी मल्टीप्लेक्स चेनहरूले ‘दुःखी आत्मा’ लाई बढी प्राथमिकता दिएका छन् । ‘दुःखी आत्मा’ ले देशभर करिब २०० शो प्राप्त गरेको छ भने ‘रंगी’ ६०–७० शोमा सीमित छ ।
नेपालकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले ‘दुःखी आत्मा’ का लागि ६५ शो सुनिश्चित गरेको छ, जबकि ‘रंगी’ ले केवल १६ शो प्राप्त गरेको छ । त्यस्तै, दोस्रो ठूलो चेन आइएनआइले ‘दुःखी आत्मा’ लाई १७ शो दिएको छ भने ‘रंगी’ लाई मात्र ४ शो प्रदान गरेको छ ।
काठमाडौं उपत्यकाका अन्य मल्टीप्लेक्सहरूको अवस्थामा पनि यस्तै भिन्नता देखिन्छ । वान सिनेमाज (नयाँ बानेश्वर र कालीमाटी) मा ‘दुःखी आत्मा’ का ९ शो जबकि ‘रंगी’ का ३ शो मात्रै छन् । एफक्यूबमा ‘दुःखी आत्मा’ का ५ शो छन् भने ‘रंगी’ का २, विएसआरमा ‘दुःखी आत्मा’ का ४ र ‘रंगी’ का १, बिग मुभिजमा ‘दुःखी आत्मा’ का ३ शो र ‘रंगी’ का १ शो निर्धारण गरिएको छ। मोफसलका मल्टीप्लेक्सहरूमा पनि यही अनुपातमा शो बाँडिएको छ ।
यदि ‘दुःखी आत्मा’ ले पाएको शो संख्याअनुसार अकुपेन्सी राम्रो रह्यो भने चलचित्रको ‘ओपनिङ’ दमदार हुनसक्छ । ‘रंगी’ लाई भने सीमित शोका कारण हलमा दर्शक तान्न चुनौती हुन सक्छ । तर, ‘वर्ड अफ माउथ’ बलियो भयो भने शो वृद्धि हुने सम्भावना रहन्छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘दुःखी आत्मा’ मा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, लोकेन्द्र लेखक, शिशिर वाङ्गदेल लगायतका कलाकारको दमदार प्रस्तुति रहनेछ।
त्यस्तै, सुरेश न्यौपाने निर्देशित ‘रंगी’ मा सलोन बस्नेत, दीलिप रायमाझी, नम्रता श्रेष्ठ, आयुषी ढकाल आदिको अभिनय छ। फिल्ममा सलोनले एकल बाबुको भूमिका निभाएका छन्, जसकी छोरीको भूमिकामा आयुषी ढकाल देखिएकी छन्।
दर्शकहरूले यी फरक शैलीका दुई चलचित्रमध्ये आफ्नो रोजाइ अनुसार छनोट गर्न पाउनेछन् । अब, चलचित्रको ‘वर्ड अफ माउथ’ कत्तिको बलियो हुन्छ भन्ने कुराले यसको भविष्य निर्धारण गर्नेछ ।