चार महिना लगाएर टुगिएयो ‘बलिदान’ को छायांकन, फूलपातीमा आउला ?

काठमाडौं । सन्तोष सेनको निर्देशनमा बनेको चलचित्र ‘बलिदान’ को छायांकन पूरा भएको छ । मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा अन्तिम दृश्य खिचिएसँगै सिनेमाको छायांकन सम्पन्न भएको हो ।

यो चलचित्रको निर्माणपक्षले केही दिन अघि छायाकंन पुरा गरेता पनि आधिकारिकरूपमा शुक्रबार मात्रै छायांकन सम्पन्न गरेको घोषणा गरेको छ । 

निर्देशक सेनले पहिलो र दोस्रो चरण गरि चलचित्रको सबै छायांकन चार महिनामा टुगिएको बताएका छन् ।

विराटनगर, इटहरी, रंगेली, कानेपोखरीमा खिचिएको चलचित्रको बुढासुब्बा मैदानमा केही दिन अगाडि अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको दृश्य छायांकन गरिएको थियो ।

निर्देशक सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकनको चरण पार गरेको बताएका छन् ।

निर्देशक सेनले ‘बलिदान’लाई ‘महान चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता नगरेको बताएका छन् ।

“कथा, कलाकार, प्राविधिक र प्रविधिकपक्ष हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौँ । शारीरिक, मानसिक र भावनात्मक रूपमा धेरै संघर्ष गर्यौं,” उनले भने, “चलचित्रलाई राम्रो बनाउज कुनै कसर बाँकी राखेनौँ ।”

अब चलचित्र सम्पादन प्रक्रियामा प्रवेश गर्नेछ । सेनका अनुसार, टिजर चाँडै सार्वजनिक हुनेछ, जसमा प्रदर्शन मिति घोषणा गरिनेछ ।

प्रदर्शन मिति बारे औपचारिक रूपमा जानकारी नदिए पनि यो चलचित्र आगामी दसैँमा रिलिज हुनेछ । स्रोतका अनुसार दसैँको फूलपातीका दिन रिलिज गर्ने निर्माणपक्षले तयारी गरेको छ ।

‘१२ गाउँ’ रिलिज भएकै डेट फूलपातीका दिन ‘बलिदान’ रिलिज हुने स्रोतको भनाइ छ ।

चलचित्रको प्रमुख भूमिकामा समीर भट्टको प्रमुख भूमिका छ । सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मालगायत कलाकारको पनि अभिनय छ ।

आसुसेन फिल्म्स प्रा.ली.को प्रस्तुति रहेको चलचित्रमा पवन ब्राडफोर्ड विस्ट निर्माता र प्रेम पुरी सह–निर्माता छन् ।

यो पनि पढ्नुहोस्

‘बलिदान’ फूलपातीमा रिलिज हुने, सातवटा सिनेमालाई झड्का