फिल्म स्टुडियो बनाउन बोर्ड र धुलिखेल नगरपालिकाबीच सम्झौता

काठमाडौं । चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाले ३९औँ स्थापना दिवसको अवसरमा उक्त बार्डसँग उक्त सम्झौता गरेको हो ।

नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच भएको सम्झौता भएको हो ।

अध्यक्ष डिसीले धुलिखेलमा चलचित्र विकास बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने बताए । “यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ,” उनले भने, “यहाँ प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर चलचित्र निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ ।”

नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि धुलिखेल नगरपालिकाले साथ दिने बताए । “यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा उभ्याउनेछ । पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारी सिर्जना गर्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्नेछ,” उनले भने ।

नेपालसँगै अन्तर्राष्ट्रिय चलचित्र निर्माता तथा निर्देशकहरूलाई पनि आकर्षित गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाइने अध्यक्ष डिसीले बताए ।