गायक कुमा सागरको ‘मजाक’ गरेको आरोपमा सजन, सुजन र उत्सवविरुद्ध प्रहरीमा निवेदन

काठमाडौं । गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ जनाविरुद्ध प्रहरीमा निवेदन परेको छ ।
कमेडियन सजन श्रेष्ठ, सुजन जिम्बा र उत्सव सापकोटासहित कार्यक्रम प्रस्तोता सुशान्त प्रधानविरुद्ध प्रहरीमा निवेदन दर्ता परेको हो ।
गायक कुमा सागरको लवज नक्कल गरी जिस्क्याएको आरोपमा उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौंमा नेवार समुदायका व्यक्तिहरूले निवेदन दिएका हुन् ।
केही दिनअघि सुशान्त प्रधानले कमेडियन सजन जिम्बा, उत्सव सापकोटा र सजन श्रेष्ठसँग अन्तरक्रिया गरेको एक पोडकास्ट भिडियो अपलोड गरेका थिए । सामाजिक सञ्जाल विधेयकले कन्टेन्ट क्रियसन र कमेडीलाई कसरी प्रभाव पार्छ भन्ने विषयमा छलफल गर्न उनीहरूलाई निम्त्याइएको थियो ।
कार्यक्रममा सजन श्रेष्ठले गायक कुमा सागरको गीत उनको शैलीमा गाउने प्रयास गरेका थिए । उक्त भिडियोमा श्रेष्ठले गायकको लवजलाई होच्याएको भन्दै आलोचना सुरु भएको थियो ।
पडकास्ट विवादित भएपछि कार्यक्रम प्रस्तोता सुशान्तले सो भिडियो युट्युबबाट प्राइभेट गरिसकेका छन् ।
विवाद बढेपछि सजन श्रेष्ठले सामाजिक सञ्जालमार्फत माफी मागेका थिए । उनले गायक कुमा सागरलाई जिस्काउने कुनै मनसाय नरहेको स्पष्टीकरण दिएका छन् । “मैले उहाँलाई होच्याउने उद्देश्यले गाएको होइन, म उहाँको ठूलो फ्यान हुँ,” श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार उनले कुमा सागरसँग कुराकानी गरी व्यक्तिगत रूपमा माफी मागिसकेका छन् । “पाँच दिन अगाडि नै मैले उहाँसँग कुरा गरेर माफी मागेको थिएँ, उहाँले पनि बुझ्ने कुरा गर्नुभएको थियो,” उनले बताए ।
तर, कुमा सागरका समर्थकहरू श्रेष्ठको माफीले सन्तुष्ट नभई कानुनी कारबाहीको माग गर्दै प्रहरी कार्यालय पुगेका हुन् । उनीहरूले उक्त कार्यले नेवार समुदायको भाषा र संस्कृतिमा अपमान गरेको आरोप लगाएका छन् ।
सुशान्तको पडकास्टमा इन्टभ्यु दिन पुगेका तीन जनाले कुमाको गाउने शैलीलाई अश्लिलतासँग जोडेर मजाक गरेको भन्दै नेवार समुदायका १५ जना व्यक्तिले उनीहरूविरुद्ध निवेदन दिएका हुन् । कुमा सागरलाई गिज्याएर सम्पूर्ण नेवार समुदायको आत्मसम्मानमा चोट पुगेको निवेदनमा दाबी गरिएको छ ।
उक्त निवेदनमा नेवारी संस्कृति, भाषा-शैली र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाको भन्दै उनीहरूमाथि कार्वाहीको माग गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।
“केही व्यक्तिहरू आएर निवेदन दिनुभएको छ । हामी अनुसन्धान गर्दैछौं,” प्रवक्ता बोहराले भने ।
यस घटनालाई कतिपयले कमेडीको नाममा कसैको भावनामा चोट पुर्याउनु गलत भएको बताएका छन् भने कतिपयले यसलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखेका छन् ।