शाहरुखको ‘रब्ने बनादी जोडी’ र ‘आचार्य’को साउन्डको काम एउटै स्टुडियोमा

काठमाडौं । गायक तथा अभिनेता सत्यराज आचार्यले आफ्नो चलचित्र ‘आचार्य’को पोष्टप्रोडक्सनको काम भारतका टप स्टुडियोमा भएको बताएका छन् ।
त्यसैले यो चलचित्रको साउन्ड, ब्याकग्राउण्डस्कोर, कलरलगायत निकै राम्रो रहेको छ । १३ वर्ष अगाडि निर्माण गरिएको चलचित्रको साउन्ड, ब्याकग्राउण्डस्कोर, सिनेमेटोग्राफी अहिलेका चलचित्रको भन्दा उच्चस्तरको छ ।
“हामी राति १२ बजे मुम्बइको स्टुडियोमा साउन्डको र ब्याकग्राउण्डस्कोरको काम गर्न छिर्दा आफ्नो चलचित्रको साउन्डको काम गरेर शाहरुख खान निस्किँदै गरेका हुन्थे,” सत्यराजले बुधबार प्रिमियर शोमा भने, “त्यो बेला शाहरुखको रब्ने बनादी जोडीको काम हुँदै थियो ।”
मेकअप र कष्ट्युमको काम पनि भारतका चर्चित फिल्ममा काम गरेका कष्टयुम डिजाइनर र मेकअप आर्टिस्टबाट गराएको उनले स्मरण गरेका थिए ।
चलचित्रको स्क्रिनप्ले हलिउडका स्क्रिप्टराइटर रिक बारफले लेखेका हुन् । जो अस्कर विनर स्क्रिनप्लेराइटर हुन् ।
१५ वर्ष अगाडि नै सिंकसाउन्डमा काम गरेको स्मरण गर्दै उनले चार महिना लगाएर सुटिङ गरेको बताए । आफूलाई सौगात मल्लले अभिनय सिकाएको बताएका सत्यराजले ‘आचार्य’मा अढाई करोड रुपैयाँ त्यहीबेला खर्च भएको बताए ।
गायक तथा संगीतकार भक्तराज आचार्यको जीवन संघर्ष र उपलब्धीमा बनेको चलचित्र ‘आचार्य’ भोलिबाट रिलिज हुँदैछ ।
प्रशान्त रसाइलीको निर्देशन गरेको चलचित्रमा सत्यराज आचार्य मुख्य भूमिकामा छन् । उनी भक्तराजका जेठा छोरा हुन् ।
अन्य कलाकारका सुनील पोखरेल, अरुणा कार्की, सौगात मल्ल, विपीन कार्कीलगायत छन् ।
रोशन राई निर्माता रहेको चलचित्र १३ वर्षपछि चलचित्र ‘आचार्य’को पुनः प्रदर्शन हुन लागेको हो ।
२०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । चिकित्सकले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । त्यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । उक्त घटनालाई पनि सिनेमाले देखाएको छ ।
सिनेमाको ट्रिमिङ तथा पुनः सम्पादनको काम देवजंग थापाले गरेका छन् । सिनेमामा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधनपछिका फुटेज पनि समावेश गरिएका छन् ।