प्रधानमन्त्री ओलीलाई अभिनेत्री ढुङ्गानाको आग्रह- बिन्ती छ, देशको इज्जत बचाइदिनुस्

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको इज्जत जोगाइदिन आग्रह गरेकी छन् ।
मंगलबार फेसबुकमा स्टाटस लेख्दै अभिनेत्रीले भारतको केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री ओलीलाई नेपालको इज्जत जोगाउन आग्रह गरेकी हुन् ।
अभिनेत्री ढुङ्गानाले उक्त घटनामा नेपालको बेइज्जत गरिएको र त्यसको जिम्मेवारी कांग्रेस, एमाले र माओवादीले लिनुपर्ने कि नपर्ने भनेर समेत प्रश्न गरेकी छन् ।
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी)मा भएको प्रकृति लम्सालको घटना र सोही घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका प्रदर्शनरत नेपाली विद्यार्थीहरूमाथि गरिएको अत्याचारलाई मध्यनजर गर्दै नीताले खुलापत्र लेखेकी छन् ।
उनी लेख्छिन्, ‘प्रिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू । नमस्कार, म कलाकार नीता ढुंगाना । केही समय यतादेखि फोटो खिच्ने र फोटो खिचाउने कामबाहेक देशको उन्नति, प्रगति र देशमा के भइरहेको छ भन्ने हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौं । कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जस्तै हुनुपर्छ भनेर ठाँटले भन्ने म आज दोधारमा छु ।’
पत्रमा उनले लेखेकी छन्, ‘भर्खरै भारतको एउटा विद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनु पर्यो, धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ । उक्त विश्वविद्यालय व्यवस्थापन समितिकी अध्यक्षले नेपाली विद्यार्थीको न्यायको मागको अपहेलना गर्दै प्रतिकार गर्ने क्रममा विद्यालयको बजेट जति तिमीहरुको देशको राष्ट्रिय बजेट पनि छैन भनेर नेपालको बेइज्जत गरेकी रहिछन् । अन्तर्राष्ट्रिय मञ्चमा कहिलेसम्म यस्तै बेइज्जत हामीले खेपिरहनु पर्ने हो ?’
‘बिन्ती छ, नेपालको इज्जत जोगाइदिनुस् । बिन्ती छ, नेपाली जनताको भावना बुझिदिनुस्,’ उनले फेसबुकमा लेखेकी छन् ।
उनले नेपालको आजको हालत कसले बनायो भनेर पनि प्रश्न गरेकी छन् । ‘विग केही वर्षदेखि नेपालको शासक तपाईंहरू कांग्रेस, एमालेमा, माओवादी। अब यो बेइज्जतको जिम्मेवारी तपाईंहरूले लिनुपर्ने कि नपर्ने ?,’ उनले सोधेकी छन्।
केही समययता प्रधानमन्त्रीको फोटो खिच्ने/फोटो खिचाउने बाहेक अरु काम नदेखिएको पनि उनले बताएकी छन् । ‘उन्नति, प्रगति र देशमा के भइरहेको छ ? हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौँ । कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जस्तै हुनुपर्छ भनेर ठाँटले भन्ने म कलाकार आज कन्फ्यूजमा छु,’ उनले लेखेकी छन् ।
अभिनेत्री ढुङ्गानाले सपना र विश्वास सपना र विश्वासमै सीमित रहेको पनि बताएकी छन् । ‘नेपाली जनताका लागि तपाईंले बोलेका शब्दहरूमा विश्वास गर्ने हो, तपाईंले देखाएका सपनाहरूमा हामीले आफ्नो सपना देख्ने हो । तर, विश्वास विश्वासमा मात्र सीमित रह्यो, सपना सपनामा मात्र सीमित रह्यो, दुःख लाग्छ,’ उनले भनेकी छन् ।
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी.टेक तेस्रो वर्ष पढ्दै गरेकी प्रकृति लम्साल मृत्युको प्रसङ्ग जोड्दै उनले त्यहाँका कर्मचारीहरूले हेपेर बोलेकोप्रति चित्त दुखाएकी छिन् ।