‘ताण्डवम्’को सेन्सर रोकियो

काठमाडौं । चलचित्र ‘ताण्डवम्’ सेन्सर बोर्डमा रोकिएको छ । निर्देशक जुनिम गहतराजको निर्देशनमा बनेको यस सिनेमालाई अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर बोर्डले पास गर्न अस्वीकार गरेको हो ।

मंगलबार सेन्सर बोर्डका लागि पुगेको चलचित्र टिमले बोर्डका सदस्यहरूसँग छलफल गरे पनि सिनेमालाई बिना सम्पादन पास गर्ने अनुरोध अस्वीकृत भएको निर्देशक गहतराजले जानकारी दिए । ‘केही दृश्यहरु अत्याधिक हिंसात्मक भयो भन्दै फिल्म सेन्सरमा रोकिएको छ । अब ती दृश्यहरू काटेपछि फिल्मको मर्म नै मर्छ,’ उनले भने ।

निर्माण टिमले सेन्सर बोर्डसँग ‘एडल्ट सर्टिफिकेट’ दिएर रिलिजको अनुमति दिन आग्रह गरेको थियो, तर सेन्सर बोर्डले त्यो आग्रह पनि अस्वीकार गरेको छ । बोर्डले हिंसात्मक दृश्यहरू कटौती गर्न निर्देशन दिएको छ ।

फागुन ९ गते शुक्रबार रिलिज मिति तय गरिएको चलचित्रको अग्रिम बुकिङ समेत खुला हुन सकेको छैन । सिनेमाको सेन्सर प्रक्रिया समयमा पूरा नहुँदा रिलिज मिति प्रभावित हुन सक्ने देखिन्छ ।

‘ताण्डवम्’ बदलाको कथामा आधारित सिनेमा हो, जसमा जुनिम गहतराजसँगै सरिना मगर, अंकित खड्का लगायतका कलाकारको अभिनय रहेको छ । अब, सिनेमा टिमले सेन्सर बोर्डको निर्देशन अनुसार दृश्यहरू सम्पादन गर्ने वा अन्य विकल्प खोज्ने भन्ने टुंगो लागेको छैन ।