‘लाज शरणम्’बारे निर्देशक समाज र निर्माता संघले भने- यसरी अंकुश लगाइनु दुर्भाग्यपूर्ण

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसार रोक्न अदालतले दिएको अन्तरिम आदेशप्रति चलचित्र निर्देशक समाज र चलचित्र निर्माता संघले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

चलचित्र निर्देशक समाज र निर्माता संघले अदालतको आदेशको पुनर्विचारका लागि सम्बन्धित निकायसँग आग्रह गर्दै नेपाली चलचित्र उद्योगको सिर्जनशील स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।

बुधबार निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले एक विज्ञप्ति जारी गर्दै प्रचार सामाग्री समेतमा रोक लगाउने आदेशले चलचित्र निर्देशक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पराजुलीले कुनै चलचित्रले अदालतले भनेझैँ व्यक्ति वा समुदायको मानमर्दन गर्ने अभिप्राय राखेको छ भने चलचित्र जाँच पास समितिसँग यस्ता चलचित्रको प्रदर्शन रोक्का गर्ने अधिकार निहित भएको तर यो प्रक्रियामा नपुगीकन फाट्टफुट्ट आएका प्रचार सामाग्रीका भरमा चलचित्रमाथि अंकुश लगाउने निवेदकको मनसायअनुरुप आदेश जारी हुँदा चलचित्रको करोडौँ लगानी जोखिममा परेको छ र यसले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको बताएका छन् ।

आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाजले प्रचार सामाग्रीका भरमा चलचित्रमाथि अंकुश लगाउने निवेदकको मनासयअनुरुप आदेश जारी हुँदा चलचित्रको करोडौं लगानी जोखिममा परेको समेत बताएको छ ।

‘लाज शरणम्’ लगायत यस्तै प्रकृतिको कानूनी लडाईंमा रहेका अन्य फिल्मको साथमा ऐक्यबद्धता जाहेर पनि समाजले गरेको छ । ‘यसअघि पनि चलचित्र क्षेत्रलाई विभिन्न रुपमा आक्रमण गर्ने, चलचित्र क्षेत्रलाई नै नकारात्मक प्रभाव पार्ने गतिविधिको पनि घोर भर्त्सना गर्दै भविष्यमा आउन सक्ने सम्भावित चुनौतिलाई मध्यनजर गरि परिपक्वताको साथ काम गर्न पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

त्यस्तै, चलचित्र निर्माता संघका महासचिव सुनिल कुमार थापाले पनि एक विज्ञप्ति जारी गर्दै चलचित्रलाई सरकारले इजाजत दिइसकेको अवस्थामा अदालतबाट यस्तो अंकुश लगाइनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।

मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा जन्मकैदको सजाय भोगिरहेका नेपाली काग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालतमा मुद्दा हालेका थिए ।

माघ २४ गते अदालतमा दायर भएको आलमको मुद्दामा मंगलबार सुनुवाई गर्दै पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मुद्दाको टुंगो नलागेसम्म प्रचार रोक्न अन्तरिम आदेश दिएको हो । पाटनका न्यायाधीशद्धय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

‘‍निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम्’ नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चार माध्यमहरुमा प्रचार प्रसार र सो सम्बन्धी पोस्टरहरु प्रकाशन, प्रशारण नगर्नूर नगराउनू भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ,’ अन्तरिम आदेशमा भनिएको छ ।

चलचित्रमा कलाकार सीताराम कट्टेलले निर्वाह गरेको चरित्रको अवतार आफ्नो आवरणसँग हुबहु मिलेको भन्दै आलमले मुद्दा दायर गरेका हुन् ।

भद्रगोल हुँदै सक्किगोनी टेलिसिरियल निर्माण गरिरहेका हास्यकलाकार कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको टिमले निर्माण गरेको उक्त चलचित्र आगामी १४ गतेबाट प्रदशनमा आउने तयारीमा थियो । उक्त चलचित्रको टेलर आज सार्वजनिक हुने भनिएकोमा अदालतको आदेशले रोकिएको छ ।

मुद्दाको टुंगो नलागेसम्म प्रचार रोक्न अन्तरिम आदेश दिएको हो । पाटनका न्यायाधीशद्धय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।