मल्टिस्टारर कलाकार कै कारण मात्र चर्चामा हो ‘पिताम्बर’ ?

काठमाडौं । मल्टिस्टारर कलाकारका कारण चर्चामा रहेको चलचित्र हो ‘पिताम्बर’ । कृषा चौलागाईंले निर्देशनमा निर्माण भएको यो सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरि, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी छन् ।
आगामी चैत २९ गते नयाँ वर्ष २०८२ को अवसर पारेर रिलिज हुन लागेको याे चलचित्रकाे टिजर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ चर्चामा छ । केही समय अघि युट्युबमा सार्वजनिक भएको टिजरलाई १७ लाख बढी पटक हेरिएको छ भने त्यस्तै ‘म त फ्यान भए यार’ गीतलाई १९ लाख पटक हेरिएको छ ।
चलचित्रको टिजर हेर्दा एक्सन सिनलाई भब्य देखाउन निर्देशकले कुनै कसर बाँकी छोडेको देखिएको छैन । टिजरले ट्रेलर कस्तो आउनेछ भनेर दर्शकको उत्सुकता बढाएको छ । अब ट्रेलर पनि उत्कृष्ट आएमा ‘पिताम्बर’को हाइपले बेग्लै उचाई ग्रहण गर्ने अनुमान भइसकेको छ ।
निर्देशक कृषा चौलागाईंका अनुसार टिजर र गीतहरूमा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा समेत सिनेमाको माग बढाएको छ । “हाम्रो प्रयास नवीन कथा प्रस्तुत गर्नु हो, जसले दर्शकलाई नयाँ अनुभूति दिनेछ,” उनले भनिन् ।
चलचित्रका निर्माता विशाल चौलागाईंले दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै उत्कृष्ट सिनेमा निर्माणमा आफू प्रतिबद्ध रहेको बताए । पेशाले मेडिकल व्यवसायी रहेका चौलागाईं यसअघि कृषाले नै निर्देशन गरेको ‘ऐंचो पैचो’को निर्माण गरिसकेका छन् ।
५ करोड लागतमा निर्माण भएको बताइएको ‘पिताम्बर’ केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र हो । यस सिनेमामा कामेश्वर चौरासिया, गौरी मल्ल, रवीन्द्र झा, आर्यन सिग्देलसँगै बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)को पनि अभिनय रहेको छ ।
यो चलचित्रको पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका हुन् । पुरुषोत्तम प्रधान डीओपी रहेको सिनेमामा सम्पादन बन्दे प्रसाद, द्वन्द्व निर्देशन हिमाल केसी, संगीत आशीष अविरल र बाबुल गिरी, छायांकन शेरबहादुर लामा र मानकृष्ण महर्जनले गरेका छन् ।
‘पिताम्बर’लाई देशभर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्दैछ ।