विदेशी चलचित्रकर्मीको शैली र समाजसँग जोडिन फेस्टिभल आवश्यक : शिव श्रेष्ठ
काठमाडौं । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आजदेखि काठमाडौं सुन्धारास्थित सिने डी सेफ चलचित्र भवनमा तीन दिने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरू भएको छ ।
असार ९ गतेसम्म चल्ने महोत्सवमा १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन हुने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए ।
“नेपालमा अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव हुनुपर्छ भन्ने आश्यकता महसुस गरेको यसको सुरुआत गरेका हौँ । आज १२ औँ संस्करणमा आइपुगेका छौँ । यस्ता महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ । नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिरहेका छौँ”, महोत्सव निर्देशक क्षत्रीले भने ।
अभिनेता शिव श्रेष्ठ यस्ता गतिविधीमा चलचित्र क्षेत्रसँग जोडिएका सरोकारवाला संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने, “यस्ता महोत्सवले हामीलाई विदेशी चलचित्रकर्मीको शैली र समाजसँग साक्षात्कार गराउँछ । त्यसकारण यसमा सहकार्य र सहयोग गर्नु चलचित्रकर्मीको दायित्व हो । मेरो चलचित्र यसमा किन परेन भन्ने महसुस भएको छ ।”
महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाईट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ सहभागी छन् ।
महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’, वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ सहभागी छन् । महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने जनाइएको छ ।