प्रदर्शनमा आयो ‘ताण्डवम्’

काठमाडौं । फ्राइडे रिलिमा आज हिंसात्मक दृश्य धेरै रहेको भन्दै सेन्सरमा रोकिएको चलचित्र ‘ताण्डवम्’ प्रदर्शनमा आएको छ ।

निर्माण टिमले १० मिनेट काटेपछि केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले पीजी सर्टिफिकेट दिएको थियो । त्यसैले आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो ।

निर्देशक जुनिम गहतराजले कथाको मर्म नमर्ने गरी सिनेमाको हिंसात्मक दृश्य काटिएको बताए ।

पहिलोपटक सेन्सर गर्न लैजादा २ घण्टा ६ मिनेट लामो सिनेको रनटाइम अहिले १ घण्टा ५६ मिनेट छ ।

चलचित्रमा जुनिम तहतराज, पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाललगायतको अभिनय रहेको छ ।

सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।

हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।