karsang
Close Me

अमेरिकी उपसहायक विदेशमन्त्री अफरिनले भनिन्– ‘गाउँ आएको बाटो’को कथा युनिभर्सल छ

मेरिल्याण्ड (अमेरिका) । नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७ औं संस्करण सुरु भएको छ । नेपाली डायस्पोराको बाक्लो बसोबास रहेको उक्त राज्यमा चार दिने महोत्सव प्रारम्भ भएको हो ।

एएफआई सिल्भर थिएटर हलमा नवीन सुब्बा निर्देशित नेपाली कथानक ‘गाउँ आएको बाटो’ स्क्रिनिङसँगै सुरु महोत्सवको औपचारिक सुरुवात भयो । नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले महोत्सव उद्घाटन गरिन् ।

अमेरिकी विदेश मन्त्रालयमा सुरक्षा र अन्तरराष्ट्रिय मामिला कार्यालय समेत हेर्ने अख्तर धेरैपटक नेपाल पुगेकी छन् । सिनेमाले छरिएका विविधता र अन्तरसंस्कृतिक विश्वलाई जोड्न सक्ने बताउँदै अख्तरले एकअर्काको दृष्टिकोणलाई सम्मान गर्न सक्ने बताइन् ।

‘गाउँ आएको बाटो’ फिल्मले युनिभर्सल कथा बोकेको र एकअर्काको संस्कृतिलाई जोड्ने बताउँदै उनले अमेरिकी विदेश मन्त्रालयले यसतर्फ काम गरिरहेको बताइन् । समावेशी र खुला समाज निर्माणतर्फ फिल्ममेकरले योगदान दिने बताउँदै उनले यसका लागि अमेरिकाले सरकारमात्र नभएर फिल्म निर्मातासँग पनि सहकार्य गर्ने बताइन् ।

अमेरिकाले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको बताउँदै अख्तरले नेपालसँगको ७७ औं कूटनीतिक वर्षगाँठको सम्बन्धलाई मनाउन पाउँदा आफूहरुले गर्व महसुस गरिरहेको उनको भनाइ छ ।

अमेरिकाले नेपालको आर्थिक वृद्धि र विकास, मानवअधिकार र लोकतन्त्र प्रवद्र्धन तथा दुई मुलुकका नागरिकबीच बलियो सम्बन्ध हेर्न खोजेको उनको भनाइ छ । “यी तत्व दुई मुलुकको सम्बन्धका बलिया स्तम्भ हुन्”, अख्तरले भनिन् । नेपाली डायस्पोराका राजनीतिज्ञ, फिल्ममेकर, फेसन डिजाइनरले नेपाली समाजमा वास्तविक प्रभाव पार्न सकेको उनले बताइन् ।

फिल्म हेरिसकेपछि अख्तरले नेपाली गाउँको यो कथाले आफ्नो हृदय छोएको बताइन् । “वास्तवमै सुन्दर र मर्मस्पर्शी फिल्म छ”, उनले भनिन्, “म जतिपटक नेपाल जान्छु, उतिपटक त्यहाँको पहाड र मान्छे मनपर्छन् ।”

अभिनेता राईले नेपाल अमेरिका फिल्म फेस्टिभलले अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धनमा महत्वपूर्ण भूमिको खेलेको बताए । मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पछिल्लो समय अमेरिकामा दक्षिण एसियाली समुदायको बलियो उपस्थिति रहेको बताउँदै यस्ता फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको बताए ।

फिल्म स्क्रिनिङपछि निर्देशक सुब्बा र अभिनेता राईले दर्शकसँग प्रश्नोत्तर गरेका थिए ।