स्क्रिप्ट जस्तो लेखिएको छ, ‘फेरि रेशम फिलिली’ त्यस्तै बनेको छ- सुपुष्पा भट्ट

काठमाडौं । चलचित्र ‘रणवीर’ देखि नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट लामो समयपछि ‘फेरि रेशम फिलिली’ सिनेमाबाट पुनः सिल्भर स्क्रिनमा फर्किंदैछिन् ।

सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको यो चलचित्र उनको आफ्नै होम प्रोडक्सन हो, जसका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन् । रिलिज मिति नजिकिँदै गर्दा सुपुष्पा सिनेमाप्रति उत्साहित देखिएकी छिन् । ‘फिलिली गर्ल’ को भूमिकामा देखिन पाउँदा निकै खुशी लागेको उनले बताइन् ।

निर्देशक निरोज महर्जनले लेखेको चरित्रका लागि उनी उपयुक्त देखिएकाले कुनै अन्य अभिनेत्रीको खोजी गरिएको थिएन । पहिलो श्रृंखलाका अधिकांश कलाकार पुनः फर्किएको भए पनि सुपुष्पा भने नयाँ अनुहारका रूपमा प्रस्तुत भएकी छिन् ।

उनले निर्वाह गरेको चरित्रबारे बोल्दै सुपुष्पाले भनिन्, “मेरो भूमिका बोल्ड छ, जसले आफ्नो इच्छाअनुसार मात्रै सोच्ने प्रवृत्ति राख्छ। मेहनत गरेर काम गरेकी छु, तर दर्शकले कस्तो प्रतिक्रिया दिनुहुन्छ, त्यो हेर्न बाँकी छ।”

सिनेमामा अभिनय गर्दा अझ मेहनत गर्न सक्ने थिएँ भन्ने सोच पनि आएको उनले बताइन् । पटकथा बलियो भएकाले आफूले भूमिका मन पराएको र दर्शकको राम्रो प्रतिक्रिया आउनेमा आशावादी रहेको पनि उनले उल्लेख गरिन्।

फागुन १४ गते शिवरात्रिका दिन रिलिज हुन लागेको चलचित्रमा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, रविन्द्र झा, लक्ष्मी गिरी, शिशिर वाङ्गदेल लगायतका कलाकारको अभिनय रहेको छ।

यो चलचित्रमा निर्देशक निरोज महर्जन र आकाश बरालको पटकथा, सुसन प्रजापतीको छायांकन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्दै छन्।